एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । गृहमन्त्री सुधन गुरुङले दूषित तथा गुणस्तरहीन खाना बिक्री गर्ने होटेल तथा रेस्टुरेन्टमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएका छन् ।
उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन प्रभावकारी बनाउन परिपत्र जारी गरेको हो ।
गृहमन्त्री स्तरीय निर्णयपछि मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाले सबै प्रमुख जिल्ला अधिकारीलाई पठाएको परिपत्रमा अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन स्पष्ट निर्देशन दिइएको छ । मन्त्रालयले अस्वच्छ तथा न्यून गुणस्तरका खाद्यवस्तु बिक्री वितरण गर्ने र प्रचलित कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि कानुनबमोजिम हदैसम्मको कडा कारबाही गरिने जनाएको छ ।
परिपत्रमा देशका विभिन्न स्थानमा सञ्चालित केही होटेल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइ अत्यन्त कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएको उल्लेख गरिएको छ । उक्त विषयप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
मन्त्रालयले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा उजुरी दर्ता गर्न सक्ने गुनासो सुनुवाइ संयन्त्र—हटलाइन वा द्रुत सेवा डेस्क—तत्काल स्थापना गर्न निर्देशन दिएको छ । प्राप्त गुनासोलाई उच्च प्राथमिकतामा राखी शीघ्र सम्बोधन गर्न पनि जिल्ला प्रशासनलाई भनिएको छ ।
स्थानीय प्रशासनलाई प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यसहित सामान्य प्रकृतिका गुनासोका लागि नागरिकले मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
निर्देशनसँगै अब जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी होटेल तथा रेस्टुरेन्टको नियमित अनुगमन, मापदण्डको पालना र कानुनी कारबाहीलाई थप कडाइ गर्ने अपेक्षा गरिएको छ ।