×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा हिन्दु धर्मका आराध्य देव श्रीराम र लक्ष्मणलाई राजनीतिक व्यक्तित्वसँग तुलना गरिएको विषयप्रति राष्ट्रिय बजरंग दल, पर्साले आपत्ति जनाएको छ।

राष्ट्रिय बजरंग दल, पर्साका अध्यक्ष विवेक सिन्हाद्वारा जारी विज्ञप्तिमा महाधिवेशनका क्रममा केही व्यक्तिहरूले धार्मिक आस्थाका केन्द्र रहेका श्रीराम र लक्ष्मणलाई राजनीतिक नेतृत्वसँग तुलना गरेको भन्दै दुःख व्यक्त गरिएको छ।

विज्ञप्तिमा कुनै पनि राजनीतिक व्यक्तिको महिमामण्डन वा देवत्वकरण गर्न धार्मिक आस्थाका प्रतीकहरूलाई प्रयोग गर्नु उचित नभएको उल्लेख गरिएको छ। धार्मिक भावनासँग जोडिएका पात्र र प्रतीकलाई राजनीतिक सन्दर्भमा प्रयोग गर्दा आम श्रद्धालुहरूको भावना आहत हुन सक्ने संस्थाको भनाइ छ।

राष्ट्रिय बजरंग दलले उक्त घटनाले हिन्दु समुदायको धार्मिक भावनामा असर पुगेको दाबी गर्दै सम्बन्धित पक्षसँग सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। साथै, भविष्यमा राजनीतिक स्वार्थ वा प्रचारका लागि देवी–देवताका नाम तथा धार्मिक प्रतीकहरूको दुरुपयोग नगर्न चेतावनीसमेत दिएको छ।

विज्ञप्तिमा यस्ता गतिविधि दोहोरिएमा कानुनी तथा शान्तिपूर्ण माध्यमबाट आवश्यक कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ। उक्त विषयमा रास्वपा वा सम्बन्धित पक्षबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Back to top