वीरगञ्ज । वीरगञ्जमा जारी सडक विस्तार कार्यका कारण नारायणी अस्पताल नजिक सञ्चालन हुँदै आएको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) को भवन भत्काइने भएपछि केन्द्रलाई नयाँ स्थानमा स्थानान्तरण गरिएको छ।
रक्त सञ्चार सेवा केन्द्रले आजदेखि आफ्नो सम्पूर्ण सेवा घण्टाघर नजिक रहेको नेपाल रेडक्रस सोसाइटीको भवनबाट सञ्चालन गर्न सुरु गरेको जनाएको छ। केन्द्रले रक्तदान, रगत संकलन, रगत परीक्षण तथा रगत वितरणलगायतका सबै सेवा नयाँ स्थानबाट प्रदान गरिरहेको जनाएको छ।
केन्द्रका अनुसार सडक विस्तार योजनाअन्तर्गत पुरानो भवन हटाउनुपर्ने भएपछि सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्थासहित सेवा स्थानान्तरण गरिएको हो।
रगत आवश्यक परेका बिरामीका आफन्त, सेवाग्राही तथा रक्तदाताहरूले अबदेखि घण्टाघरस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा सम्पर्क गरी आवश्यक सेवा लिन सक्नेछन्।
रक्त सञ्चार सेवा केन्द्रले स्थान परिवर्तन सम्बन्धी सूचना आम नागरिकसम्म पुर्याइदिन तथा आवश्यक पर्दा नयाँ ठेगानामै सम्पर्क गर्न सबैसँग अनुरोध गरेको छ।