×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार विभिन्न पदमा उम्मेदवारी दिने प्रतिनिधिहरूले तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

जारी सूचनाअनुसार केन्द्रीय सभापति पदका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ निर्धारण गरिएको छ। सभापति पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिले एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर अनिवार्य रूपमा जुटाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

त्यसैगरी, पार्टीका पदाधिकारी पदका लागि उम्मेदवारी शुल्क ४१ हजार रुपैयाँ तोकिएको छ। उक्त पदका उम्मेदवारले एक जना प्रस्तावक तथा २१ जना समर्थकको समर्थन प्राप्त गर्नुपर्नेछ।

केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी शुल्क २१ हजार रुपैयाँ निर्धारण गरिएको छ। यस पदका उम्मेदवारले पनि एक जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर जुटाउनुपर्ने प्रावधान राखिएको छ।

रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र लोकतान्त्रिक बनाउन उम्मेदवारी सम्बन्धी मापदण्ड तथा प्रक्रिया सार्वजनिक गरेको जनाएको छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गरिने भएकाले नेता तथा कार्यकर्ताबीच उत्साह बढेको बताइएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले तोकिएका मापदण्ड पूरा गरी निर्धारित समयभित्र उम्मेदवारी दर्ता गर्न सम्बन्धित प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

Back to top