वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ । भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन सत्र आयोजना गरिनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ ।
महाधिवेशन उद्घाटन समारोहलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । देशभरबाट आएका प्रतिनिधि तथा नेताहरू चितवन पुगिसकेका छन् ।
करिब चार हजार प्रतिनिधिको सहभागिता
महाधिवेशनमा कुल तीन हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन् । त्यसमध्ये ३०० जना प्रतिनिधि दुई महामन्त्रीमार्फत मनोनयन गरिएको छ । प्रदेशगत रूपमा कोसीबाट ५२०, मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी हुनेछन् ।
प्रतिनिधि छनोट प्रक्रिया देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट पूरा भइसकेको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने ४ हजार ६३ वडामा अधिवेशन गरिएको छ । छ प्रदेशका ६४ जिल्लामा प्रतिनिधि छनोट सम्पन्न भएको छ भने मधेस प्रदेश र बाँकी १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधि आएका छन् ।
विधान संशोधन र नयाँ संरचना
महाधिवेशनको मुख्य एजेन्डामा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव, भावी राजनीतिक रणनीति तथा नयाँ नेतृत्व चयन रहेका छन् । केन्द्रीय समितिको हालै बसेको बैठकले पार्टी संरचनामा महत्त्वपूर्ण संशोधन गरेको छ ।
संशोधित प्रस्तावअनुसार केन्द्रीय समिति १२१ सदस्यबाट बढाएर १५१ सदस्यीय बनाइनेछ । प्रदेश सभापतिलाई पदेन सदस्य राखिनेछ भने ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । बाँकी ९९ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् ।
नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सहप्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष (एक महिला अनिवार्य) रहनेछन् । यस पटकदेखि पदाधिकारीमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ ।
उम्मेदवारी शुल्क सार्वजनिक
केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि उम्मेदवारी शुल्कसमेत सार्वजनिक गरेको छ । सभापति पदका लागि ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ भने १ जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्नेछ । पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ती पदका लागि क्रमशः १ प्रस्तावक र २१ समर्थक अनिवार्य गरिएको छ ।
व्यवस्थापन तयारी पूरा
रास्वपाले १८ उपसमिति गठन गरी महाधिवेशन तयारीको काम सम्पन्न गरेको जनाएको छ । आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत सम्पूर्ण व्यवस्थापन पूरा भएको प्रवक्ता मनिष झाले जानकारी दिए । राजनीतिक, आर्थिक र साङ्गठनिक प्रतिवेदन तयार भइसकेका छन् ।
पार्टीले हाल पाँच लाख सदस्य सङ्ख्या पुगेको जनाएको छ । महाधिवेशनमार्फत सङ्गठन सुदृढीकरण, टोल स्तरसम्म सङ्गठन विस्तार, भावी राजनीतिक कार्यदिशा निर्धारण र जनसम्बन्ध सुदृढ गर्ने लक्ष्य राखिएको प्रवक्ता झाले बताए ।
महाधिवेशनले रास्वपाको आगामी नेतृत्व चयन गर्नुका साथै पार्टीको दीर्घकालीन रणनीति तय गर्ने विश्वास गरिएको छ ।