बारा । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बारा जिल्लाको मटिअर्वा नाकामा सुरक्षा जाँचमा कडाइ गरेपछि भारतीय बजार आदापुर जाने नेपाली नागरिकहरू सास्ती खेप्न बाध्य भएका छन्। पछिल्लो दुई दिनदेखि सुरक्षा जाँचमा कडाइ गरिएपछि नेपाली यात्रुहरूले नाकामा घण्टौं कुर्नुपरेको गुनासो गरेका छन्।
मटियार्वा सीमा बिन्दु हुँदै भारतीय बजार आदापुर जाने नेपालीमाथि यसअघि भारतीय सुरक्षाकर्मीले सहज आवतजावतको व्यवस्था गर्दै आएका थिए। तर पछिल्ला दिनहरूमा नागरिकता, सवारीसाधनका कागजात तथा अन्य विवरण अनिवार्य रूपमा जाँच गर्न थालिएको स्थानीयवासीहरूले बताएका छन्।
कलैया उपमहानगरपालिका–१० सँग जोडिएको उक्त नाकाबाट दैनिक रूपमा भारत जाने नेपालीहरूलाई अहिले लामो समयसम्म रोक्ने गरिएको मटिअर्वाका स्थानीय मनोज प्रसादले बताए। उनका अनुसार पहिले सवारीसाधनसहित सहज रूपमा भारत प्रवेश गर्न पाइन्थ्यो, तर अहिले कागजात जाँचका नाममा घण्टौंसम्म रोक्ने गरिएको छ।
नाकामा बढाइएको कडाइका कारण कतिपय नेपालीहरू भारतीय बजार नगई फर्किन बाध्य भएको स्थानीयहरूको भनाइ छ। सीमावर्ती क्षेत्रका बासिन्दाहरू दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा, मेसिनरी सामग्री तथा कस्मेटिक सामान खरिद गर्न आदापुर बजार जाने गरेका छन्।
स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीले बजारबाट खरिद गरी ल्याइने सामानको जाँचमा समेत कडाइ गरेका छन्। यसअघि एउटै साइकलमा दुई बोरासम्म चामल ल्याउन दिइने भए पनि अहिले आधा बोरासम्म मात्र ल्याउन दिइएको नीलकण्ठवाका त्रिभुवन प्रसादले बताए। कतिपय व्यक्तिको सामान बढी भएको भन्दै जफतसमेत गर्न थालिएको उनको भनाइ छ।
नाकामा कडाइ बढेपछि केही स्थानीयले वैकल्पिक रूपमा खेतको बाटो प्रयोग गरी आवतजावत गर्न थालेको पनि बताइएको छ।
यस विषयमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्राले भारतीय सीमा सुरक्षा बलले सुरक्षा जाँचका नाममा नेपाली नागरिकमाथि कडाइ गरेको जानकारी सशस्त्र प्रहरीमार्फत प्राप्त भएको बताए। उनले यस विषयमा भारतीय पक्षसँग समन्वय गरी वास्तविक कारण बुझ्ने र आवश्यक पहल गर्ने जानकारी दिएका छन्।
सीमावर्ती क्षेत्रमा अचानक बढाइएको सुरक्षा जाँचका कारण स्थानीयको दैनिकी प्रभावित भएको छ भने सहज आवतजावतको माग समेत उठ्न थालेको छ। स्थानीयवासीहरूले सुरक्षा व्यवस्थासँगै नागरिकको सहज आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।