×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो १० महीनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब तीन करोड ७० लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ। राजस्व सङ्कलनमा वृद्धि देखिए पनि नगरसभाले निर्धारण गरेको महत्वाकांक्षी वार्षिक लक्ष्य भने पूरा हुने सम्भावना न्यून देखिएको छ।

महानगरपालिकाको राजस्व महाशाखाले उपलब्ध गराएको विवरण अनुसार गत आर्थिक वर्षको पहिलो १० महीनामा ४७ करोड ७५ लाख ११ हजार ५४९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा उक्त रकम बढेर ५१ करोड ४५ लाख १३ हजार ५३० रुपैयाँ पुगेको छ। यसरी अघिल्लो वर्षको तुलनामा करिब तीन करोड ७० लाख रुपैयाँले राजस्व वृद्धि भएको देखिएको छ।

राजस्व महाशाखाका प्रमुख मनोज कर्णका अनुसार गत आर्थिक वर्षमा महानगरपालिकाले ६३ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो। चालू वर्षमा पनि सोही स्तर वा त्यसभन्दा बढी राजस्व सङ्कलन गर्ने सम्भावना देखिएको उनले बताए।

उनका अनुसार हालसम्मको राजस्व सङ्कलनको प्रवृत्ति सकारात्मक रहेकाले गत वर्षको कुल सङ्कलन नाघ्न सकिने अनुमान गरिएको छ। तर नगरसभाले चालू आर्थिक वर्षका लागि करिब एक अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन लक्ष्य निर्धारण गरेकाले उक्त लक्ष्य हासिल गर्न भने कठिन देखिएको छ।

हालसम्मको सङ्कलन र आर्थिक वर्ष समाप्त हुन बाँकी रहेको सीमित अवधिलाई हेर्दा निर्धारित लक्ष्यको आधा रकमसमेत उठाउन चुनौतीपूर्ण अवस्था रहेको महानगरपालिकाको आन्तरिक मूल्याङ्कन छ।

महानगरपालिकाका अधिकारीहरूका अनुसार स्थानीय कर, सेवा शुल्क, व्यवसाय दर्ता तथा अन्य राजस्व स्रोतबाट अपेक्षाअनुसार आम्दानी हुन नसक्दा लक्ष्य र वास्तविक सङ्कलनबीच ठूलो अन्तर देखिएको हो।

राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन कर प्रशासन सुदृढीकरण, करको दायरा विस्तार, बक्यौता असुली अभियान तथा करदातामैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको महानगरपालिकाले जनाएको छ।

राजस्व सङ्कलनमा सुधार देखिए पनि उच्च लक्ष्य निर्धारणका कारण चालू आर्थिक वर्षमा अपेक्षित उपलब्धि हासिल गर्न चुनौती कायम रहेको देखिएको छ। महानगरपालिकाले बाँकी अवधिमा राजस्व वृद्धि गर्न विशेष अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।

Back to top