×

वीरगञ्ज । आउँदै गरेको मनसुन तथा विभिन्न प्राकृतिक एवं मानवजन्य विपद्लाई मध्यनजर गर्दै वीरगञ्जमा विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको आयोजना तथा वीरगञ्ज महानगरपालिकाको संयोजनमा सञ्चालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम” मार्फत स्थानीय स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गरिएको हो।

वीरगञ्ज महानगरपालिका कार्यालयको सभाहलमा असार २ गतेदेखि सुरु भएको तालिममा स्थानीय समुदायका ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। दुई कार्यदिनसम्म सञ्चालन गरिएको तालिममा विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धार कार्यसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिमका क्रममा सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षकहरूले बाढी, डुबान, आगलागी, सडक दुर्घटना लगायतका सम्भावित विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहरा सहभागी भएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति मोहन बहादुर क्षेत्रीसहित अन्य सुरक्षा अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले विपद्को समयमा स्थानीय स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता तालिमले समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने बताएका थिए।

सशस्त्र प्रहरी बल नेपालले यस तालिमबाट वीरगञ्ज तथा आसपासका क्षेत्रमा हुन सक्ने सम्भावित विपद्जन्य क्षति न्यूनीकरण गर्न, उद्धार कार्यलाई प्रभावकारी बनाउन तथा जनधनको सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि विपद् व्यवस्थापनसम्बन्धी यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

Back to top