सप्तरी । सप्तरीको नेपाल–भारत सीमा क्षेत्रमा तस्कर समूहको आक्रमणबाट नेपाल प्रहरीका एक सहायक प्रहरी निरीक्षक (असई) घाइते भएका छन्।
जिल्लाको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित दशगजा नजिक आज बिहान करिब ४ बजे तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको स्रोतले जनाएको छ।
प्राप्त जानकारीअनुसार सीमा स्तम्भ नम्बर २४३ नजिक भइरहेको तस्करी गतिविधिको निगरानी तथा नियन्त्रणका लागि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले हातपात गरेको थियो। सो क्रममा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादव कुटिएका हुन्।
स्थानीयवासीका अनुसार तस्कर समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ। घटनापछि केही समय सीमा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको बताइएको छ।
घटनाको वास्तविक कारण, आक्रमणमा संलग्न व्यक्तिहरू तथा घटनाको सम्पूर्ण विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि आवश्यक सुरक्षा संयन्त्र परिचालन गरिएको जनाएको छ। साथै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ।