×

वीरगञ्ज । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।

एकदिने उक्त कार्यक्रममा पत्रकारिताको विश्वसनीयता अभिवृद्धि, व्यावसायिक मर्यादा कायम तथा सञ्चार माध्यमप्रति जनविश्वास बढाउने उद्देश्यले पत्रकार आचारसंहिताका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत रहेका थिए भने मिडिया काउन्सिल जनकपुरधामकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समितिका संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश गुप्ता तथा विश्व पत्रकार महासंघका दीपेन्द्र चौहानलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रमका प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार धर्मेन्द्र झा रहेका थिए। उनले पत्रकारितामा सत्यता, निष्पक्षता, उत्तरदायित्व, स्रोतको गोपनीयता, सामाजिक उत्तरदायित्व तथा डिजिटल युगमा देखिएका चुनौतीबारे विस्तृत प्रशिक्षण प्रदान गरेका थिए।

प्रशिक्षणका क्रममा सहभागी सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, समाचार सम्प्रेषणमा तथ्यपरकता, गलत सूचना तथा भ्रामक सामग्री नियन्त्रण, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा व्यावसायिक पत्रकारिताका मूल्यमान्यताबारे जानकारी गराइएको थियो।

कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध ८० भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले पत्रकारिताको व्यावसायिक स्तर अभिवृद्धि गर्न तथा जिम्मेवार सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

मिडिया काउन्सिल जनकपुरधामले प्रदेशभर सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तथा पत्रकारितालाई थप मर्यादित, उत्तरदायी र विश्वसनीय बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Back to top