×

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड Ather Energy Nepal ले वीरगञ्जमा आफ्नो नयाँ एथर अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। मधेश प्रदेशमा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने उद्देश्यले आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस नजिक उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो।

बिहीबार आयोजित एक कार्यक्रमबीच केन्द्रको औपचारिक उद्घाटन गरिएको हो। गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको यस शोरुमका सञ्चालक अनुप अग्रवाल तथा टिम एथर वीरगञ्ज रहेका छन्।

कम्पनीका अनुसार वीरगञ्जमा नयाँ केन्द्र थपिएसँगै देशभर एथरका अनुभव केन्द्रको संख्या १२ पुगेको छ। काठमाडौं उपत्यकाका पाँच केन्द्रसहित पोखरा, भरतपुर, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्जमा कम्पनीको उपस्थिति विस्तार भइसकेको छ।

नयाँ केन्द्रमार्फत मधेश प्रदेशका ग्राहकहरूले एथरका आधुनिक, प्रविधिमैत्री तथा उच्च क्षमतायुक्त विद्युतीय स्कुटरको प्रत्यक्ष अवलोकन, परीक्षण तथा खरिद गर्न सक्नेछन्। ग्राहकहरूले परीक्षण सवारी गर्न, स्मार्ट प्रविधिबारे जानकारी लिन, आकर्षक किस्ताबन्दी योजनाबारे बुझ्न तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

वीरगञ्ज केन्द्रमा कम्पनीका लोकप्रिय तथा एथर ४५० शृङ्खला एथर रिज्ता स्कुटर उपलब्ध रहेका छन्। एथर ४५० शृङ्खलामा गुगल नक्सामा आधारित मार्गनिर्देशन, अटो होल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइड मोड तथा स्पर्शमार्फत सञ्चालन हुने डिजिटल ड्यासबोर्डजस्ता अत्याधुनिक सुविधाहरू रहेका छन्।

त्यस्तै परिवारलाई केन्द्रमा राखेर डिजाइन गरिएको एथर रिज्टामा फराकिलो सिट, ठूलो अन्डर–सिट भण्डारण क्षमता, ट्र्याक्सन नियन्त्रण प्रणाली, चोरी तथा टोइङ सचेतना सूचना, ह्वाट्सएप सूचना तथा शरीरको सही आसन कायम राख्न सहयोग गर्ने विशेषताहरू समावेश छन्।

ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले एथर नेपालले देशभर १० वटा आधिकारिक सेवा केन्द्र सञ्चालन गरिरहेको जनाएको छ। साथै विस्तारित ब्याट्री वारेन्टी, १० प्रतिशत ब्याजदरमा वित्तीय सुविधा तथा पुरानो सवारी साटफेर गर्दा ७५ हजार रुपैयाँसम्मको मूल्याङ्कन लाभसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

विद्युतीय सवारीसाधनको प्रयोगलाई थप सहज बनाउन एथर नेपालले आफ्नो द्रुत चार्जिङ सञ्जालसमेत विस्तार गर्दै आएको छ। हाल देशका प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी चार्जिङ केन्द्र सञ्चालनमा रहेका छन्।

नयाँ अनुभव केन्द्र सञ्चालनमा आएसँगै मधेश प्रदेशका ग्राहकहरूले अन्तर्राष्ट्रियस्तरको विद्युतीय स्कुटर तथा सेवा सुविधामा अझ सहज पहुँच पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। साथै, वीरगञ्जमा एथरको उपस्थितिले यस क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग र प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

Back to top