एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । पछिल्लो समय बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समयावधि अस्थायी रूपमा परिवर्तन गरेको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधवार सूचना जारी गर्दै असार ४ र ५ गते दुई दिनका लागि बिहान ६ बजेदेखि ९:३० बजेसम्म मात्र कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ । महानगरपालिकाले सबै विद्यालयलाई तोकिएको समय कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।
यद्यपि समय छोट्ट्याउने निर्णयलाई स्वागत गरिए पनि केही अभिभावक तथा सरोकारवालाहरूले बिहानको समय कटौती मात्र पर्याप्त नभएको बताएका छन् । उनीहरूले अत्यधिक गर्मीको अवस्थालाई मध्यनजर गर्दै केही दिनका लागि विद्यालय पूर्ण रूपमा बन्द गर्नु नै उपयुक्त हुने सुझाव दिएका छन् । “बिहान पनि गर्मी निकै हुन्छ, साना बालबालिकालाई विद्यालय पठाउन जोखिम छ,” एक अभिभावकले भने ।
यसबीच, वीरगञ्जका केही निजी विद्यालयहरूले महानगरको निर्देशन विपरीत दिउँसोसमेत कक्षा सञ्चालन गरिरहेको गुनासो आएको छ । स्थानीय अभिभावकहरूले महानगरपालिकाले प्रभावकारी अनुगमन नगर्दा समस्या बढेको बताएका छन् । सरोकारवालाहरूले निर्णय कार्यान्वयनमा कडाइ गर्न र उल्लङ्घन गर्ने विद्यालयमाथि कारबाही गर्न माग गरेका छन् ।
पछिल्ला केही दिनयता वीरगञ्जको अधिकतम तापक्रम ४० देखि ४३ डिग्री सेल्सियसभन्दा माथि पुगिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मधेस प्रदेशका जिल्लाहरूमा ‘हिटवेभ’ (तातो हावा) को अवस्था देखिएको छ । अत्यधिक घाम, तातो हावा र न्यून वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो गर्मीमा बालबालिकामा डिहाइड्रेसन (शरीरमा पानीको कमी), टाउको दुखाइ, चक्कर लाग्ने, अत्यधिक थकान, घाम लागेर बेहोस हुने (हीट स्ट्रोक) जस्ता समस्या देखिन सक्छन् । लामो समय घाममा बस्नुपर्दा मुटु र मस्तिष्कमा समेत असर पुग्न सक्ने चिकित्सकहरूको चेतावनी छ । साना बालबालिका, दीर्घरोगी तथा कमजोर स्वास्थ्य अवस्था भएका विद्यार्थी बढी जोखिममा रहने बताइएको छ ।
स्वास्थ्य विज्ञहरूले अभिभावकलाई बालबालिकालाई विद्यालय पठाउँदा पर्याप्त पानी बोतलमा हालेर पठाउन, हल्का र सूती कपडा लगाउन, टोपी वा छाता प्रयोग गर्न तथा खाली पेट विद्यालय नपठाउन सुझाव दिएका छन् । अत्यधिक गर्मीका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।
विद्यालयहरूले पनि कक्षाकोठामा पर्याप्त हावाप्रवाहको व्यवस्था मिलाउने, विद्यार्थीलाई नियमित रूपमा पानी पिउन प्रोत्साहित गर्ने, बाहिरी खेलकुद गतिविधि स्थगित गर्ने, आवश्यक परे प्राथमिक उपचार सामग्री तयारी अवस्थामा राख्ने तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक जानकारी दिने व्यवस्था गर्नुपर्ने बताइएको छ ।
महानगरपालिकाको निर्णयले केही राहत दिए पनि बढ्दो तापक्रमका कारण थप सावधानी र प्रभावकारी अनुगमन आवश्यक देखिएको छ । मौसमको अवस्था सुधार नहुँदासम्म बालबालिकाको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्न अभिभावक, विद्यालय र स्थानीय तह सबै सचेत रहनुपर्ने देखिन्छ ।