×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले पर्सा र बाराका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष कारबाहीका क्रममा ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा सवारी साधन बरामद गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार असार २ गते पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वा सीमा क्षेत्रमा खटिएको टोलीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको मधेश प्रदेश ०३–००१ ह १९२२ नम्बरको ई–रिक्सामा लोड गरिएको विभिन्न सामान बरामद गरेको हो। बरामद गरिएका सामानमा ४० हजार ८ सय रुपैयाँ बराबरको अगरबत्ती बनाउने कच्चा पदार्थ, २७ हजार ५ सय रुपैयाँ बराबरको केरा, ४५ हजार रुपैयाँ बराबरको माछा तथा ४ लाख रुपैयाँ मूल्य बराबरको ई–रिक्सा रहेका छन्। प्रहरीलाई देख्नासाथ सामान ल्याउने व्यक्ति फरार भएको जनाइएको छ। बरामद सामान तथा ई–रिक्सा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसैगरी सोही दिन वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट खटिएको अर्को टोलीले १ लाख ३० हजार ३ सय ४० रुपैयाँ बराबरका चिसो पेय पदार्थसहित एक मोटरसाइकल नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म वीरगञ्ज, प्रस्तावित औद्योगिक सुरक्षा बेस जितपुर तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित एक गोदाममा छापा मारेको थियो।

उक्त गोदामबाट भन्सार छली गरी लुकाइछिपाई भण्डारण गरिएको ३ लाख २५ हजार रुपैयाँ बराबरको ४३ कार्टुन खजुर, ८ कार्टुन एएफजेडएल मिन्ट टोबाको तथा एक सेट गाडीको बर्नेट बरामद गरिएको छ। बरामद सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

गोदामको खानतलासीका क्रममा पछाडिको कोठाबाट करिब ३ हजार रुपैयाँ बराबरको १०० लिटर घरेलु मदिरासमेत फेला परेको थियो। उक्त मदिरा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय जितपुरको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी पर्साको छिपरमाई गाउँपालिका–५ भिस्वा बजारस्थित सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलीले १३ हजार २ सय ५० रुपैयाँ बराबरका किराना तथा विद्युतीय सामग्रीसहित १ लाख २५ हजार रुपैयाँ मूल्यको मोटरसाइकल नियन्त्रणमा लिएको छ। साथै भिस्वा बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको अर्को टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट ३४ हजार २ सय ६० रुपैयाँ बराबरका औषधि तथा इलेक्ट्रोनिक्स सामग्री बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार बरामद गरिएका सम्पूर्ण सामान तथा सवारी साधन आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

Back to top