×

वीरगञ्ज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागले अनुगमनलाई तीव्र बनाएको छ ।

अनुगमनका क्रममा ४ वटा फार्मेसी सिलबन्दी गरिएको छ भने थप ३ वटा औषधि पसललाई अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ ।

औषधि व्यवस्था विभागका निरीक्षक रवि चौधरी थारुका अनुसार विभागमा प्राप्त उजुरीका आधारमा बारा र रौतहट जिल्लामा सञ्चालित १६ वटा औषधि पसल तथा फार्मेसीमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बारा जिल्लाको पचरौता नगरपालिका–८ स्थित विना इजाजत सञ्चालनमा रहेको तराई सेन्ट्रल हस्पिटलको फार्मेसी युनिट, पचरौता नगरपालिकास्थित नेत्र प्रसाद चौरसियाद्वारा सञ्चालित औषधि पसल, रौतहटको वृन्दावन नगरपालिका–६ स्थित पाठक मेडिकल हल तथा फतुवा विजयपुर नगरपालिका–८ स्थित समर मेडिकल हललाई स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा सिलबन्दी गरिएको निरीक्षक थारुले जानकारी दिए ।

त्यसैगरी रौतहटको मौलापुर नगरपालिकास्थित पटेल मेडिकल हल, सुमिन्त्रा फार्मेसी र शान्ति सेन्ट्रल हस्पिटलको फार्मेसी युनिटमा फर्मासिस्टबिना औषधि बिक्री–वितरण भइरहेको भेटिएपछि फार्मेसीलाई अर्को निर्देशन नभएसम्मका लागि बन्द गरिएको छ ।

अनुगमनका क्रममा बारा जिल्लामा सञ्चालित सामुदायिक जननायक हस्पिटल प्रालिको फार्मेसी युनिटमा लागू तथा मनोद्दीपक औषधिको अभिलेख नराखिएको तथा हरिओम मेडिकल हलको औषधि पसल दर्ता प्रमाणपत्रको म्याद समाप्त भएको पाइएको थियो । दुवै संस्थालाई आवश्यक कागजातसहित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले सामान्य प्रकृतिका त्रुटि भेटिएका अन्य फार्मेसीलाई सुधार गर्न निर्देशन दिएको जनाएको छ । अनुगमन टोली पुगेको जानकारी पाएपछि केही क्षेत्रमा अधिकांश औषधि पसल सञ्चालकले पसल बन्द गरी भागेको समेत पाइएको निरीक्षक थारुले बताए ।

उनले अनुगमनबाट उम्किन खोजे पनि विभागले निरीक्षणको आवृत्ति बढाएर सबै औषधि पसललाई नियमनको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

अनुगमन टोलीमा औषधि व्यवस्था विभागका अमर शर्मा, मिता कुमारी, सुजन कार्की लगायतका कर्मचारीको सहभागिता रहेको थियो ।

Back to top