बारा । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता जितेन्द्र सोनलले नेपाल–भारत सीमामा अत्यधिक नियन्त्रणको नीति लागू गर्न खोजिए मधेसमा त्यसको कडा विरोध हुने चेतावनी दिएका छन्।
मधेस मिडिया काउन्सिलले मंगलबार कलैयामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सोनलले नेपाल र भारतबीचको सीमाले दुई देशलाई छुट्याए पनि दुवै देशका नागरिकबीचको सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध युगौँदेखि कायम रहेको बताए। उनले सीमामा आवश्यक नियमन हुनु स्वाभाविक भए पनि जनजीवन प्रभावित हुने गरी नियन्त्रण गर्न खोजिए मधेसका जनता त्यसको विरोधमा उत्रिने दाबी गरे।
सदियौँदेखि सीमावर्ती क्षेत्रमा वारपारको व्यापार र आवतजावत हुँदै आएको उल्लेख गर्दै उनले सीमाबाट ल्याउन पाइने सामानलाई १०० रुपैयाँको सीमामा बाँध्ने नीति सरकारकै लागि प्रतिउत्पादक हुने चेतावनी दिए।
“निर्वाचनमा जनताले दिएको मतादेशलाई हामीले शिरोधार्य गरेका छौँ, तर त्यही मतादेशको आडमा जनतालाई दुःख दिने काम उचित हुँदैन,” उनले भने।
सरकारले भारतसँगको सीमाबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउन नपाइने व्यवस्था गरेको विषयलाई मधेसका जनताले स्वीकार नगर्ने उनको भनाइ थियो।
यसै क्रममा उनले केन्द्र सरकारले संवैधानिक निकायहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए। निर्वाचन आयोगका पदाधिकारीहरूले आफ्नो संवैधानिक दायराभन्दा बाहिर गएर निर्वाचन क्षेत्रसम्बन्धी अभिव्यक्ति दिइरहेको दाबी गर्दै उनले संवैधानिक निकायहरूमाथिको हस्तक्षेप बन्द गरी स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिए।
नेता सोनलले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन सरकारसँग आग्रह गरे। साथै, लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन स्वतन्त्र र जिम्मेवार पत्रकारिताको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो।