×

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको विशेष पहल तथा प्राप्त उजुरीका आधारमा वीरगञ्जका विभिन्न ब्युटी पार्लर र सौन्दर्य संस्थामा गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोग गरेको पाइएपछि चार वटा संस्थामाथि कारबाही गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले लिंक रोड घण्टाघरस्थित द बियर्ड सप ब्युटी सैलुन, आदर्शनगरस्थित औरा एलेभेन तथा घडिअर्वा पोखरी नजिक रहेको कुरियर्स माउन्ड ग्रुप प्रालि लाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ। त्यसैगरी घण्टाघर–६ स्थित हेयर ट्याग एन्ड एकेडेमी लाई १० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीका सदस्य प्रकाश कुमार शाहले जानकारी दिनुभयो।

शाहका अनुसार लामो समयदेखि उपभोक्ता ठगिएको भन्ने गुनासो तथा उजुरी प्राप्त भइरहेकाले विशेष अनुगमन अभियान सञ्चालन गरिएको हो। अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिम कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९ (घ) अनुसार कारबाही गरिएको जनाइएको छ।

अनुगमनका क्रममा द बियर्ड सप ब्युटी सैलुनबाट करिब १५ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका सौन्दर्य सामग्री जफत गरी नष्ट गरिएको छ भने औरा एलेभेनबाट करिब ४० हजार रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको टोलीले जनाएको छ। त्यसैगरी घडिअर्वा पोखरी नजिक रहेको कुरियर्स माउन्ड ग्रुप प्रालिबाट ५० हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका सौन्दर्य सामग्री जफत गरी नष्ट गरिएको बताइएको छ।

संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, उद्योग वाणिज्य संघ वीरगञ्ज, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, सौन्दर्यकर्मी संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

वीरगञ्ज बजार क्षेत्रमा लामो समयदेखि सौन्दर्य सेवाको नाममा सञ्चालन भइरहेका केही ब्युटी पार्लरमा उपभोक्ता ठगी भइरहेको गुनासो बढ्दै आएको थियो। विशेषगरी म्याद गुज्रिएका तथा गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगले छालामा एलर्जी, संक्रमण तथा अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

उपभोक्ता अधिकारकर्मीहरूले सुन्दर बन्ने चाहनामा ब्युटी पार्लर पुग्ने सेवाग्राही, विशेषगरी महिलाहरू, नक्कली तथा म्याद गुज्रिएका सामग्रीको प्रयोगका कारण स्वास्थ्य जोखिममा पर्नुका साथै आफूले तिरेको रकमअनुसारको गुणस्तरीय सेवा नपाइ ठगिन बाध्य भइरहेको बताएका छन्। उनीहरूले नियमनकारी निकाय र व्यवसायीहरूलाई समयमै जिम्मेवार बन्न आग्रह गरेका छन्।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता व्यवसायमाथि नियमित अनुगमन, प्रभावकारी नियमन तथा कानुनबमोजिम कडा कारबाही आवश्यक रहेको स्थानीयवासीले समेत माग गरेका छन्।

Back to top