एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट आयात हुने सबै फलफूलजन्य वस्तुको खाद्य परीक्षण अनिवार्य गरिएको छ। वीरगञ्ज खाद्य क्वारेन्टाइन कार्यालय, उपभोक्ता हित संरक्षणका क्षेत्रमा क्रियाशील संस्थाहरूको निरन्तर दबाब तथा सम्बन्धित सरकारी निकायहरूको सक्रिय पहलपछि यो व्यवस्था कार्यान्वयनमा आएको हो।
नयाँ व्यवस्थाअनुसार अब वीरगञ्ज नाकाबाट नेपाल भित्रिने फलफूल तथा अन्य ताजा कृषि उपजले अनिवार्य रूपमा खाद्य परीक्षण प्रक्रिया पूरा गरेपछि मात्र नेपाली बजारमा प्रवेश पाउनेछन्। यसअघि आयातीत फलफूलको गुणस्तर, विषादीको मात्रा तथा उपभोगयोग्य अवस्थाबारे समय–समयमा प्रश्न उठ्दै आएका थिए।
उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै खाद्य क्वारेन्टाइन कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चले आयातीत खाद्यवस्तुको प्रभावकारी परीक्षण आवश्यक रहेको भन्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै आएका थिए। सरोकारवालाहरूको निरन्तर पहल र दबाबलाई सकारात्मक रूपमा ग्रहण गर्दै भन्सार विभागले आवश्यक समन्वय र व्यवस्थापन मिलाएर परीक्षण प्रणाली लागू गरेको जनाएको छ।
हाल वीरगञ्ज नाकाबाट आयात हुने सबै फलफूलजन्य सामग्री खाद्य परीक्षणको दायरामा ल्याइएको छ। परीक्षणमा तोकिएको गुणस्तर मापदण्ड पूरा गरेका वस्तुहरूलाई मात्र आयात अनुमति प्रदान गरिने व्यवस्था लागू गरिएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
सरकारी अधिकारीहरूका अनुसार यस कदमले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ। साथै, आयातीत कृषि उपजमार्फत हुन सक्ने सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्न पनि यो व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको छ।
उपभोक्ता हित संरक्षण मञ्चले यस निर्णयलाई उपभोक्ता अधिकार संरक्षण र खाद्य सुरक्षाको दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेको छ। मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले खाद्य सुरक्षा सुनिश्चित गर्न परीक्षण प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नियमित बनाउन आवश्यक रहेको बताएका छन्।
सरकार, भन्सार विभाग, खाद्य क्वारेन्टाइन कार्यालय तथा उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील सरोकारवालाबीचको समन्वयबाट लागू भएको यो व्यवस्था दीर्घकालीन रूपमा खाद्य सुरक्षा सुदृढ गर्न, आयातीत खाद्यवस्तुको गुणस्तर सुनिश्चित गर्न तथा उपभोक्ताको विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।