वीरगञ्ज । हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ) सक्रिय रहनुका साथै स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न भागमा बदलीको अवस्था देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधरणतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ । कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मधेस प्रदेशमा आज दिउँसो आंशिक बदली रहने अनुमान गरिएको छ । तापक्रम उच्च रहँदै ३४ देखि ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने सम्भावना रहेको कारण गर्मी र उमस बढ्ने देखिन्छ । यद्यपि अपराह्न वा साँझतिर स्थानीय वायुसँगै विकास हुने बादलका कारण प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । विशेषगरी पूर्वी तथा मध्य मधेसका केही जिल्लामा छोटो अवधिको वर्षा हुन सक्ने सम्भावना रहेको छ । आज राति पनि मधेस प्रदेशमा आंशिक बदली रहने र एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज दिउँसो कोसी प्रदेशलगायत देशका हिमाली भागमा साधरणतया बदली रहनेछ भने बाँकी पहाडी भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोसी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका साथै मधेस प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
महाशाखाले मेघगर्जन, चट्याङ, वर्षा तथा हावाहुरीका कारण हुन सक्ने सम्भावित प्रभावलाई ध्यानमा राखी सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । विशेषगरी मधेस प्रदेशमा चट्याङका बेला खुला स्थानमा नबस्न, अग्ला रुख वा विद्युत् पोल नजिक नजान, कृषिकर्म गर्दा मौसमको अद्यावधिक जानकारी लिन तथा अत्यधिक गर्मीबाट जोगिन प्रशस्त पानी पिउन र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ । मौसमसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम पूर्वानुमान महाशाखाको आधिकारिक बुलेटिन हेर्न अनुरोध गरिएको छ ।