वीरगञ्ज । क्रिएटिभ स्कुल ग्रुप अन्तर्गत सञ्चालनमा रहेका श्रीपुरस्थित ओएसीस माध्यमिक विद्यालय, छपकैयास्थित ग्रीनल्यान्ड मावि, भिशुवास्थित विभूति एकेडेमी र गहवास्थित अल्फाटेक मोडर्न स्कुलका ७० जना शिक्षकहरूका लागि एक दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मधेस विश्वविद्यालयका डिन तथा प्राध्यापक डा. अञ्जय कुमार मिश्रले सहजीकरण गरेका थिए । उनले शिक्षकहरूले विद्यालयमा प्रभावकारी रूपमा पठनपाठन कसरी गराउने, विद्यार्थीहरूको भावनालाई कसरी समेट्ने तथा पाठ्यक्रमसँगै मनोवैज्ञानिक परामर्श र प्रविधिको प्रयोगलाई कसरी समन्वय गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
डा. मिश्रले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञान पनि उत्तिकै आवश्यक हुने बताउँदै त्यसतर्फ शिक्षकहरूले विशेष ध्यान दिनुपर्ने धारणा राखे । उनका अनुसार अबको शिक्षण पेसा अझ गम्भीर, उत्तरदायी र समयानुकूल हुन आवश्यक छ । विद्यार्थीहरूको चाहना, रुचि र क्षमतालाई पहिचान गर्दै शिक्षकबिच आपसी समन्वय र सहकार्यको वातावरण सिर्जना गर्नु जरुरी रहेको उनले उल्लेख गरे । केवल पाठ्यपुस्तकमा सीमित नभई बाह्य ज्ञान र सीपलाई पनि शिक्षण प्रक्रियामा समावेश गर्नुपर्नेमा उनले जोड दिए ।
एन प्याब्सन पर्साका पूर्व अध्यक्ष तथा अल्फाटेक मोडर्न स्कुलका संस्थापक राम सुन्दर चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सचिव तथा ओएसीस माविका संस्थापक प्रिन्सिपल इन्द्रदेव शाह, ग्रीनल्यान्ड माविका संस्थापक प्राध्यापक उपेन्द्र पण्डित, विभूति एकेडेमीका हरिलाल शाह, लक्ष्मी पुस्तकका सञ्चालक रोहित ब्याहुत लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमबारे जानकारी दिँदै आयोजक पक्षले यस्ता प्रशिक्षणले शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि हुनुका साथै विद्यार्थीमैत्री शिक्षण पद्धति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।