×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ पानीटंकीस्थित लिटल बडी प्रि स्कुलमा युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूको सम्मानमा भव्य ग्राजुएसन सेरेमोनी सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक विजय बलको अध्यक्षता तथा डा. प्रीति यादवको प्रमुख आतिथ्ययतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक यात्राको पहिलो महत्त्वपूर्ण उपलब्धिलाई उत्सवका रूपमा मनाइएको थियो । विशेष पोसाकमा सजिएका नानीबाबुहरूले प्रमाणपत्र ग्रहण गर्दै आफ्नो खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रारम्भिक बाल शिक्षाको क्षेत्रमा लिटल बडी प्रि स्कुलले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा बालमैत्री सिकाइ पद्धतिमार्फत वीरगञ्जमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल भएको बताएका थिए ।

वक्ताहरूले बालबालिकाको आधारभूत शिक्षालाई मजबुत बनाउन यस्ता विद्यालयहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयले शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल, समाजवादी प्रेस सङ्गठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, वीरगञ्ज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाईलगायत शिक्षा, सामाजिक तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । गीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमले अभिभावक र अतिथिहरूलाई आकर्षित गरेको थियो । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै आत्मविश्वास र सृजनशीलता अभिवृद्धिमा समेत विशेष ध्यान दिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

Back to top