वीरगञ्ज । नेपाल प्रौढ संघ पर्साले वीरगञ्ज महानगरपालिका–१६ मा स्थापना गरेको वृद्ध सेवा आश्रमको एक विशेष समारोहबीच मधेश प्रदेशका पूर्व उपमुख्यमन्त्री तथा वर्तमान प्रदेश सांसद लालबाबु राउतले उद्घाटन गरेका छन्।
आश्रमको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि राउतले ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र संस्कारका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूप्रति सम्मान र जिम्मेवारीको भावना अझ सुदृढ बनाउनुपर्ने बताए। उनले असहाय तथा अभिभावकविहीन वृद्धवृद्धाहरूको संरक्षण र हेरचाहमा यस्ता आश्रमहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।
नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्द राउत अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अर्का सल्लाहकार प्रकाश उपाध्यायले संघको इतिहास, उद्देश्य तथा हालसम्मका गतिविधिबारे जानकारी गराएका थिए।
समारोहमा विभिन्न सामाजिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आश्रम व्यवस्थापन समितिले संस्थाको उद्देश्य, भावी योजना तथा ज्येष्ठ नागरिकहरूलाई उपलब्ध गराइने सेवा–सुविधाबारे जानकारी गराएको थियो।
यस अवसरमा नवगठित व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको परिचय गराइएको थियो भने उपस्थित अतिथिहरूले आश्रमको प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा आश्रम स्थापना तथा सञ्चालनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। वीरगञ्ज तथा आसपासका क्षेत्रका ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण र हेरचाहमा वृद्ध सेवा आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।