×

वीरगञ्ज । हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभर बदलीको अवस्था रहे पनि यसको मुख्य प्रभाव तराई–मधेस क्षेत्रमा देखिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार तराई–मधेसका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा समेत हुन सक्छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मधेस प्रदेशका थोरै स्थानमा अहिले नै मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

दिउँसो मधेस प्रदेशका विभिन्न स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ ।

रातिको समयमा पनि मधेस प्रदेशसहित कोसी, बागमती र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ, जसले गर्दा डुबान, जलजमाव र चट्याङबाट हुने जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा मानिन्छ भने १० देखि ५० मिलिमिटरबीच वर्षा भए मध्यम वर्षा भनिन्छ। ५० देखि १०० मिलिमिटरबीच वर्षा भए भारी वर्षा मानिन्छ। त्यस्तै, १०० देखि २०० मिलिमिटरबीच वर्षा भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भनिन्छ ।

वर्षा हुने क्षेत्रको दायराबारे मौसमविद्ले स्पष्ट पारेका छन् कि ‘एक–दुई स्थान’ भन्नाले १० प्रतिशतभन्दा कम भू–भागमा वर्षा हुने सम्भावना जनाउँछ । १० देखि ३० प्रतिशत भू–भागमा वर्षा हुने सम्भावना भए ‘थोरै स्थान’ भनिन्छ भने ३० देखि ५० प्रतिशत भू–भागमा वर्षा हुने सम्भावना हुँदा ‘केही स्थान’ शब्द प्रयोग गरिन्छ। ५० देखि ८० प्रतिशत भू–भागमा वर्षा हुने सम्भावना भए ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भू–भागमा वर्षा हुने सम्भावना हुँदा ‘अधिकांश स्थान’ भनिन्छ ।

हालको मौसमी प्रणालीको प्रभाव केही दिन कायम रहने सम्भावना रहेकाले विशेषगरी तराई–मधेस क्षेत्रका बासिन्दालाई मेघगर्जन, चट्याङ र सम्भावित भारी वर्षाबाट सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

Back to top