×

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत करार कर्मचारीहरू विगत तीन दिनदेखि गाउँपालिका कार्यालय अगाडि शान्तिपूर्ण धर्नामा बसेका छन् । आठ महिनादेखि तलब–भत्ता नपाएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् ।

कर्मचारीहरूका अनुसार २०८२ साल कार्तिक महिनादेखि हालसम्मको पारिश्रमिक भुक्तानी हुन बाँकी छ । पटक–पटक माग गर्दा पनि “यो महिना, अर्को महिना भुक्तानी हुन्छ” भन्ने आश्वासन मात्रै पाएको तर व्यवहारमा भुक्तानी नभएपछि बाध्य भएर धर्नामा बस्नुपरेको उनीहरूको भनाइ छ ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष लिलावती देवी कानुलाई बुझाइएको ज्ञापन पत्रमा तलब–भत्ता तत्काल उपलब्ध गराउन माग गरिएको छ । कर्मचारीहरूले २०८३ जेठ २५ गतेदेखि कार्यालयको सम्पूर्ण कामकाज थप गरी नियमित रूपमा धर्ना बस्ने उल्लेख गरेका छन् । तलब–भत्ता नपाएसम्म आन्दोलन जारी रहने र त्यसबाट पर्न सक्ने असरको जिम्मेवारी कार्यालय प्रमुखको हुने चेतावनी पनि दिइएको छ ।

धर्नामा सहभागी करार कर्मचारी गौरीशङ्कर यादवले लामो समयदेखि तलब नपाउँदा आफूहरू गम्भीर आर्थिक समस्यामा परेको बताए । “आठ महिनादेखि तलब पाएका छैनौँ । घरभाडा, छोराछोरीको पढाइ, बैंक ऋण र दैनिक खर्च धान्नै कठिन भएको छ,” उनले भने, “हामी सेवा प्रवाह रोक्न चाहँदैनौँ, तर मेहनतको पारिश्रमिक नपाएपछि चुप लागेर बस्न सकिने अवस्था रहेन ।”

कर्मचारीहरूको आन्दोलनका कारण गाउँपालिकाबाट प्रवाह हुने प्रशासनिक तथा विकाससम्बन्धी कामकाज प्रभावित हुने देखिएको छ । स्थानीय सेवाग्राहीहरूमा समेत अन्योल बढेको छ ।

यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। तलब भुक्तानीमा ढिलाइ हुनुको कारणबारे गाउँपालिकाले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

Back to top