वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाको १३औँ नीति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तय गरिएको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष वशिष्ठ गुप्ताले औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले जनताको अपेक्षा, आवश्यकता र “समृद्ध कालिकामाई” निर्माणको दीर्घकालीन लक्ष्यलाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम तयार पारिएको बताए । उनले स्थानीय तहको विकासमा जनसहभागिता र सुझावलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे ।
“जनताको सुझाव, सहभागिता र सहयोगलाई मार्गदर्शनका रूपमा ग्रहण गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगार, सुशासन तथा समग्र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नेछौँ,” अध्यक्ष गुप्ताले भने ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णप्रति अध्यक्ष गुप्ताले हार्दिक धन्यवाद व्यक्त गरे ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा गुणस्तरीय शिक्षा विस्तार, आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, कृषि आधुनिकीकरण, सडक तथा अन्य भौतिक पूर्वाधार विकास, स्थानीय स्तरमै रोजगारी सिर्जना र पारदर्शी तथा उत्तरदायी सुशासन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ ।
स्थानीय सरकार गठनपछि निरन्तर विकासका कार्यक्रम अघि बढाइरहेको कालिकामाई गाउँपालिकाले यस पटकको नीति तथा कार्यक्रममार्फत समग्र आर्थिक–सामाजिक रूपान्तरणतर्फ ठोस कदम चाल्ने अपेक्षा गरिएको छ ।