×

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–स्थित सलेमपुरमा सवारी दुर्घटनापछि उत्पन्न विवादका क्रममा प्रहरीमाथि आक्रमण भएको घटनामा मधेश प्रदेशका पूर्वप्रदेशसभा सदस्य अशोककुमार यादवमाथि अनुसन्धान सुरु गरिएको छ। प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको भए पनि हालसम्म फेला नपरेको जनाएको छ।

सर्लाहीका प्रहरी प्रमुख (एसपी) रवीन्द्र पौडेलका अनुसार यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार जेठ २५ गते राति करिब ९ बजे यादवको स्वामित्वमा रहेको ज.१ त. २५५० नम्बरको ट्याक्टरले कविलासी नगरपालिका–८ अगर्वामा रोकेर राखिएको ना.६ ख. ७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनापछि भाग्ने क्रममा ट्याक्टरलाई प्रहरीले रोकी दुवै पक्षलाई आपसी छलफलमार्फत मेलमिलाप गर्न वा आवश्यक परे प्रहरी कार्यालयमा आउन आग्रह गरेको थियो।

त्यसक्रममा ट्याक्टर चालकले अशोक यादवलाई घटनास्थलमा बोलाएका थिए। प्रहरीको आरोपअनुसार यादव घटनास्थलमा पुगेपछि उनीसँगै आएका व्यक्तिहरूले प्रहरीलाई घेरेर दुर्व्यवहार तथा आक्रमण गरेका थिए। साथै प्रहरी नियन्त्रणबाट ट्याक्टरसमेत भगाइएको प्रहरीले जनाएको छ।

एसपी पौडेलका अनुसार घटनामा संलग्न समूहले प्रहरीमाथि गालीगलौज र आक्रमण गरेको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कविलासी नगरपालिका–१० सलेमपुर निवासी १९ वर्षीय विक्रमकुमार यादव र भारतीय नागरिक २१ वर्षीय प्रियाङ्शु यादव रहेका छन्। उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अशोककुमार यादव २०७४ सालको निर्वाचनमा मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। हाल उनी नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध रहेको बताइएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।

Back to top