वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले आज जेठ २६ गते आयोजना गर्ने तय गरेको प्रथम जिल्ला अधिवेशन स्थगित भएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले सोमबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै विविध अपरिहार्य कारणवश अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
यसअघि रास्वपा बारा जिल्ला समितिले जेठ २६ गते बिहान १० बजे निजगढ नगरपालिका–८ स्थित शुभकार्य बैंक्वेटमा अधिवेशन आयोजना गर्ने तयारी पूरा गरिसकेको थियो । अधिवेशनका लागि निमन्त्रणा पत्रसमेत सार्वजनिक गरिएको थियो भने नेता–कार्यकर्ता र समर्थकमाझ उल्लेख्य उत्साह देखिएको थियो ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा हस्ताक्षरित सूचनामा जिल्ला सदस्यहरू, पार्टी पङ्क्ति तथा सरोकारवालालाई अधिवेशन स्थगित गरिएको जानकारी गराइएको छ । साथै, अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा बाँकी प्रक्रियाबारे आधिकारिक जानकारी पछि सार्वजनिक गरिने उल्लेख गरिएको छ ।
“सुशासन, समृद्धि र परिवर्तनको यात्रा” भन्ने नारासहित पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा आयोजना हुन लागेको अधिवेशन स्थगित भएपछि नयाँ मिति कहिले तय हुन्छ भन्ने विषयमा जिल्लाभर चासो बढेको छ ।
केन्द्रीय निर्वाचन आयोगले आगामी कार्यतालिकासम्बन्धी थप निर्देशन नआएसम्म धैर्य गर्न र आधिकारिक सूचनाको प्रतीक्षा गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।