वीरगञ्ज । न्यूनतम खाद्य स्वच्छता मापदण्डसमेत पालना नगरी उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको आरोपमा वीरगञ्जका केही ठुला तथा नाम चलेका होटेल र मिठाई पसलहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको फन्दामा परेका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको पहलमा “मोबाइल फुड ल्याब भ्यान”सहित खटिएको सरकारी टोलीले शनिवार गरेको विशेष अनुगमनमा चरम लापरबाही र गम्भीर विकृति फेला पारेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख सुरेश सिंहको नेतृत्वमा गरिएको अनुगमनका क्रममा अनमोल स्विट्स, होटेल मकालु, र मेजवानी स्विट्सलाई मुख्य निसानामा राखिएको थियो। बाहिर आकर्षक र प्रतिष्ठित देखिने यी ब्रान्डहरूको भान्साभित्र भने अस्वस्थकर अवस्था भेटिएको टोलीले जनाएको छ ।
‘मन्द विष’ जस्तै तेलको प्रयोग
अनुगमनका क्रममा तिन वटै होटेलहरूमा धेरै पटक तताएर कालो र विषाक्त भइसकेको तेल प्रयोग भइरहेको पाइएको छ । मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने उक्त तेल तत्काल जफत गरी नष्ट गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
त्यसैगरी, भान्सामा दुर्गन्ध, सरसफाइको अभाव, खाद्य सामग्री खुला र असुरक्षित रूपमा राखिएको, खुला डस्टविन प्रयोग गरिएको तथा कामदारहरूको व्यक्तिगत सरसफाइमा बेवास्ता गरिएको पाइएको छ । महँगो मूल्य लिने प्रतिष्ठित होटेलहरूले नै उपभोक्तालाई जोखिममा पारिरहेको तथ्यले बजारको अवस्था चिन्ताजनक देखिएको सरोकारवालाहरूको भनाइ छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेलले गत वर्षसमेत यस्ता होटेल तथा रेस्टुरेन्टहरूको स्तरियकरण (ग्रेडिङ) गरिए पनि सुधार नदेखिनु दुःखद भएको बताए । उपभोक्ता अधिकारकर्मी प्रकाश शाहले पटक–पटक चेतावनी दिँदा पनि अटेर गरिएकाले अब सामान्य निर्देशनले मात्र नपुग्ने धारणा राखे ।
स्थानीय उपभोक्ता र अधिकारकर्मीहरूले अनमोल स्विट्स, होटेल मकालु, र मेजवानी स्विट्सजस्ता व्यवसायलाई भारी जरिवाना गर्ने, स्तर (ग्रेड) घटाउने तथा अटेर गरेमा सञ्चालन अनुमति (लाइसेन्स) नै खारेज गरी कडा कानुनी कारबाही अघि बढाउन माग गरेका छन् ।
अनुगमन टोलीमा डिभिजन प्रमुख सुरेश सिंह, केमिस्ट पवनकुमार कुर्मी, खाद्य निरीक्षकहरू जगतप्रकाश चौधरी र श्रवण साह, उपभोक्ता अधिकारकर्मी प्रकाशकुमार शाह तथा पत्रकार अभिलाष गुप्तालगायतको सहभागिता रहेको थियो । टोलीले सम्बन्धित व्यवसायहरूलाई तत्काल सुधार नगरे कडा कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य व्यवसायमा देखिएको यस्तो लापरबाहीले नियामक निकायको निगरानी थप कडा बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।