वीरगञ्ज । भूमि प्रशासन (मालपोत) कार्यालय पर्सामा राजस्व किर्ते गरेको अभियोगमा पक्राउ परेका लेखनदास ओम यादवसहित चार जना पर्सा जिल्ला अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन् ।
लेखनदास यादवले एक सेवाग्राहीबाट लाखौँ रुपैयाँ लिएर सोबापत भूमि प्रशासन कार्यालयमा बुझाउनुपर्ने लाभकर रकममा किर्ते गरेको आरोप लागेको थियो । भूमि प्रशासन कार्यालय पर्साले दिएको लिखित जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाएको थियो ।
प्रहरी अनुसन्धानअनुसार वीरगञ्ज महानगरपालिकामा बुझाएको घरजग्गा करको रसिदमा चलखेल गरी साढे सात प्रतिशत बुझाउनुपर्ने लाभकरको दर घटाएर राजस्व छली गरिएको थियो । यसरी भूमि प्रशासन कार्यालय पर्सालाई करिब साढे चार लाख रुपैयाँ बराबरको राजस्व नोक्सानी पुर्याइएको आरोप छ ।
घटना सार्वजनिक भएपछि लेखनदास यादवले सम्बन्धित रकम बैंकमा दाखिला गरेर विषय मिलाउन प्रयास गरेको बताइए पनि कार्यालय प्रमुखले उनीविरुद्ध लिखित जाहेरी दिएपछि प्रहरी अनुसन्धान अघि बढेको थियो ।
यसै प्रकरणमा गत जेठ १८ गते साँझ भूमि प्रशासन कार्यालयका तीन जना कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तीमध्ये दुई जना कर्मचारी मात्र प्रहरी सम्पर्कमा आएका थिए ।
जग्गाधनी, लेखनदास यादव तथा दुई कर्मचारी गरी चार जनाविरुद्ध अनुसन्धान चलाइएकोमा पर्सा जिल्ला अदालतले शुक्रवार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । प्रकरणसँग सम्बन्धित थप अनुसन्धान तथा कानुनी प्रक्रिया भने जारी रहेको जनाइएको छ ।