×

तस्बिर : रासस ।

वीरगञ्ज । नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री डा. एस. जयशंकरबीच शनिवार नयाँ दिल्लीमा द्विपक्षीय उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल–भारत सम्बन्धका समग्र पक्षमा केन्द्रित रहेर “गहन र फलदायी” छलफल भएको थियो ।

वार्ताका क्रममा दुई देशबिचको आर्थिक सहकार्य, व्यापार प्रवर्द्धन, सीमापार सम्पर्क सञ्जाल (रेल, सडक र प्रसारण लाइन) विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुद र सांस्कृतिक आदानप्रदानमार्फत जनस्तरको सम्बन्ध सुदृढ गर्ने विषयमा विस्तृत समीक्षा गरिएको दूतावासले जनाएको छ ।

ऊर्जा क्षेत्रमा विशेषगरी जलविद्युत् उत्पादन, दीर्घकालीन विद्युत् खरिद–बिक्री सम्झौता, तथा प्रसारण पूर्वाधार विस्तारमार्फत क्षेत्रीय विद्युत् व्यापार बढाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन् । भारतले नेपालबाट दीर्घकालीन रूपमा विद्युत् आयात गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रसारण लाइन सुदृढीकरणलाई प्राथमिकता दिने सङ्केत गरेको छ ।

तीन महत्त्वपूर्ण संयुक्त घोषणा

वार्तापछि तीन वटा महत्त्वपूर्ण संयुक्त घोषणा सार्वजनिक गरिएका छन् । घोषणाले प्राविधिक, आर्थिक र पुनर्निर्माण सहकार्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

१. सीमापार डिजिटल भुक्तानी पूर्ण सञ्चालनमा

नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया बिच सन् २०२३ जुनमा भएको समझदारीअनुसार विकसित सीमापार डिजिटल भुक्तानी प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने घोषणा गरिएको छ ।

नयाँ व्यवस्थाले नेपाल र भारतबिच पर्यटक, विद्यार्थी, व्यवसायी तथा सर्वसाधारणलाई क्युआर कोडमार्फत प्रत्यक्ष भुक्तानी गर्न सहज बनाउनेछ । यसअघि भारतको यूपीआई प्रणाली नेपालका केही बैंक तथा डिजिटल वालेटसँग आबद्ध भइसकेको थियो । अब प्रणाली पूर्ण सञ्चालनमा आएपछि दुई देशबिचको खुद्रा व्यापार र पर्यटन क्षेत्रमा उल्लेखनीय सहजता आउने विश्वास गरिएको छ ।

२. भूकम्पपछिको पुनर्निर्माणका ८४ परियोजना हस्तान्तरण

भारत सरकारको विकास सहयोगमा निर्माण सम्पन्न भएका ८४ वटा परियोजनाहरू औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरिएको छ । तीमध्ये ७२ स्वास्थ्य क्षेत्रका (अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र) र १२ सांस्कृतिक सम्पदा पुनर्निर्माणसम्बन्धी परियोजना रहेका छन् ।

परियोजनाहरू २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका थिए। हस्तान्तरणसँगै स्वास्थ्य सेवा पहुँच विस्तार र ऐतिहासिक सम्पदाको पुनः स्थापनामा सहयोग पुगेको बताइएको छ ।

३. एआई र भाषा रूपान्तरण प्रविधिमा सहकार्य

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिणी डिभिजन’ बिच समझदारी पत्र आदानप्रदान भएको छ ।

सहकार्य ‘भ्वाइस फर्स्ट’ अवधारणामा आधारित भाषा अनुवाद प्लेटफर्म विकासमा केन्द्रित हुनेछ । नेपाली भाषासहित विभिन्न भारतीय भाषाहरूमा एआई–आधारित अनुवाद प्रणाली विकास गरी डिजिटल सार्वजनिक सेवा पहुँच सहज बनाउने लक्ष्य राखिएको छ । यसले प्रशासनिक सेवा, शिक्षा, स्वास्थ्य तथा ई–गभर्नेन्स क्षेत्रमा भाषागत अवरोध घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

क्षेत्रीय र बहुपक्षीय सहकार्यमा प्रतिबद्धता

बैठकमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरू—जस्तै बिमस्टेक, सार्क र संयुक्त राष्ट्र सङ्घमा साझा चासोका विषयमा समन्वय बढाउने विषयमा पनि सहमति भएको दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्री खनाल शुक्रवार भारत भ्रमणमा जानुभएको हो। द्विपक्षीय भेटवार्ता, परियोजना अवलोकन तथा अन्य उच्चस्तरीय भेटघाट सम्पन्न गरी उहाँ आइतबार काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र जनस्तरको निकटतामा आधारित रहेकाले यस पटकको वार्ताले डिजिटल अर्थतन्त्र, पुनर्निर्माण र प्रविधि सहकार्यका क्षेत्रमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।

Back to top