×

एआइको सहयोगबाट तयार पारिएको साङ्केतिक तस्बिर ।

वीरगञ्ज । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा आंशिक परिवर्तन देखिए पनि तराई–मधेस क्षेत्रमा आज तापक्रम बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा आज ‘तातो दिन’ हुने तथा तापक्रम अपेक्षाकृत बढ्न सक्ने अनुमान गरिएको छ । सोही कारण गर्मीको महसुस अझ बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यद्यपि तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

त्यसैगरी, आज राति पनि मधेस प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ । तराईका अधिकांश भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बदली रहेको भए पनि तराई–मधेस क्षेत्रमा गर्मी बढ्ने सङ्केत देखिएको छ ।

महाशाखाले उच्च तापक्रमका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न सबैमा आग्रह गरेको छ ।

Back to top