वीरगञ्ज । नेपाल सरकारले भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेपछि सेवाग्राहीहरूले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
वीरगञ्ज भन्सार नाकामा भारतबाट नेपाल प्रवेश गर्ने सवारी चालक र यात्रुहरू भन्सार प्रक्रिया पूरा गर्न ३ देखि ४ घण्टासम्म लाइनमा बस्न बाध्य भएका छन् । नयाँ प्रणाली कार्यान्वयनसँगै सेवा प्रवाहमा ढिलाइ हुँदा सेवाग्राहीहरू मारमा परेको बताइएको छ ।
सेवाग्राहीहरूका अनुसार भन्सार कार्यालयले पर्याप्त पूर्व तयारी, आवश्यक जनशक्ति व्यवस्थापन तथा प्राविधिक पूर्वाधार सुदृढ नगरी अनलाइन प्रणाली लागू गर्दा सेवा लिन कठिनाइ भएको छ । लामो प्रतीक्षाका कारण यात्रु तथा सवारी चालकहरूले अनावश्यक दुःख भोग्नुपरेको उनीहरूको गुनासो छ ।
भन्सार कार्यालयका एक कर्मचारीले समेत नयाँ प्रणाली सञ्चालनका लागि आवश्यक तालिम नदिई कर्मचारीहरूलाई खटाइएको बताउँदै कार्यसम्पादनमा समस्या भइरहेको स्वीकार गरेका छन् । उनका अनुसार प्रणालीसम्बन्धी पर्याप्त प्रशिक्षणको अभावले सेवा प्रवाह प्रभावित भएको छ ।
सीमावर्ती नाकाहरूमा बढ्दो भीड र ढिलो प्रक्रियाका कारण सेवाग्राहीहरूमा असन्तुष्टि बढ्दै गएको छ । प्रभावितहरूले अनलाइन प्रणालीलाई प्रभावकारी बनाउन पर्याप्त जनशक्ति परिचालन, कर्मचारीलाई आवश्यक तालिम तथा प्राविधिक व्यवस्थापन सुदृढ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।