वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा औपचारिक भेटघाट गर्दै छन् ।
सत्तारुढ भाजपा पार्टीको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेका लामिछानेले बिहान ११ बजे पार्टी मुख्यालय भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
भेटघाटका क्रममा उनले भाजपाका अध्यक्ष नितिन नवीनसहित अन्य उच्च पदाधिकारीसँग छलफल गर्नेछन् । त्यस्तै भारतका विदेश मन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि लामिछानेको भेट हुने बताइए पनि भेटको समय भने सार्वजनिक गरिएको छैन ।
पाँच दिने भारत भ्रमणमा रहेका लामिछानेलाई जेठ २१ गते भारतस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चले अभिनन्दन गर्ने कार्यक्रम तय गरेको छ । साथै, उनले अयोध्यास्थित राम मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।
गत निर्वाचनपछि सबैभन्दा ठुलो पार्टी बनेर सत्तामा पुगेको रास्वपाको तर्फबाट यो पहिलो उच्चस्तरीय विदेश भ्रमण हो । भ्रमणलाई नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने तथा दुई देशबिचको सहकार्यका विविध आयाममा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ ।