×

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले भारतको एक इञ्च पनि जमिन नमिचेको दाबी गरेका छन्। बुधबार पार्टीको कार्यक्रममा उनले प्रधानमन्त्री बालेन शाहले संसदमा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन्।

‘उहाँले देशद्रोही कुरा गर्नुभो- नेपालले धेरै ठाउँमा भारतको सिमना मिचेको छ भन्नुभो’, उनले भने, ‘धेरै ठाउँमा होइन, भारतको एक इञ्च पनि जमिन मिचेको छैन। सम्पूर्ण रूपमा झूठ र राष्ट्रघाती कुरा संसद्को रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले गर्नुभयो।’

ओलीले प्रधानमन्त्री शाहले कसको पक्षमा र केका लागि बोलेको भनी प्रश्न गरे। ‘नेपाली जनतालाई योभन्दा बढी हेप्ने ठाउँ नै हुँदैन’, उनले भने। केही पक्षले यस्तो कुराको समर्थन गरेर हिँडेको भन्दै ओलीले व्यंग्य गरे। भारत र नेपालबीचको सीमा वार्तामा तेस्रो देशलाई मुछ्न खाजेको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरे।

ओलीले ‘आफैँले राष्ट्रपतिका अगाडि लगेर राखिदिएको सरकारको नीति तथा कार्यक्रम नसुनेर हिँड्नुपर्ने इमर्जेन्सी के थियो?’ भनी प्रधानमन्त्रीलाई प्रश्न गरे। प्रधानन्त्रीको यो व्यवहार लापरबाहीपूर्ण र बचकना भएको टिप्पणी गरे।

उनले संसद्को नियमावली मिचेर संसद्‍मा प्रधानमन्त्रीको प्रश्नोत्तर चलाएको र राष्ट्रघाती कुरा गर्दा पनि नरोकेको भनी सभामुखसमेतको आलोचना गरे।

Back to top