वीरगञ्ज । प्रतिनिधि सभाको बैठक आज (मङ्गलवार) दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर राजनीतिक सरगर्मी तीव्र बनेका बेला आज बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री साहले आइतबार संसद्मा नेपाल–भारत सीमासम्बन्धी विवादित भनाइ राखेका थिए । उक्त धारणाप्रति प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलहरूले गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने निष्कर्ष निकालेका छन् ।
यसअघि सोमबार पनि संसद् बैठक सुरु भए तापनि विपक्षीको अवरोधका कारण स्थगित भएको थियो । विपक्षी दलहरूले आजको बैठकमा पनि अवरोध कायम राख्दै विरोधलाई तीव्र पार्ने र संसद् तताउने पूर्ण तयारी गरेका छन् ।
विपक्षीको सम्भावित अवरोध र तनावका बिच संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आजको बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
प्रस्ताव प्रस्तुत भएपछि बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल अगाडि बढ्ने कार्यसूची रहेको छ ।