×

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा नेकपा एमालेले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी एमाले कार्यकर्ताले राष्ट्रियता सम्बन्धी नारा लगाउँदै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । उनीहरूले “राष्ट्रियता हराएको प्रधानमन्त्री मुर्दावाद”, “कालापानी र लिपुलेक हाम्रै हो”, “राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर” लगायतका नारा लगाएका थिए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको जग्गा मिचेको छ” भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना भइरहेको छ ।

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र नेपालको आधिकारिक धारणा विपरीत सन्देश दिएको आरोप लगाउँदै त्यसलाई तत्काल फिर्ता लिन माग गरेको छ । प्रदर्शनकारीहरूले नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाभिमानका विषयमा सरकार स्पष्ट हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिबारे विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणबाट समेत मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

Back to top