×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगर कमिटिको प्रथम महानगर अधिवेशनबाट दीपराज पटेल सभापतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा म. महुद्दीन आलमलाई ४७ मतको अन्तरले पराजित गर्दै पटेल नयाँ नेतृत्वमा चयन भएका हुन्।

निर्वाचन परिणामअनुसार पटेलले २२६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी म. महुद्दीन आलमले १७९ मत प्राप्त गरेका थिए। आलम यसअघि महानगर कमिटिका सभापति थिए।

उपसभापतिमा परितोष द्विवेदी १८४ मतसहित निर्वाचित भएका छन्। उपसभापतिका अन्य उम्मेदवार निखिल वर्णवालले १७६ मत तथा विशाल कुमार पटेलले २९ मत प्राप्त गरेका थिए।

त्यस्तै सचिव पदमा गौतम श्रेष्ठ २३२ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी जुनैद अन्सारीले १६६ मत प्राप्त गरेका थिए। सह–सचिवमा मून्ना साह तेली १८८ मतसहित निर्वाचित हुँदा राजनन्दन कलवारले १७१ मत र ऋषिकेश गुप्ताले ४५ मत प्राप्त गरेका थिए।

निर्वाचित सदस्यहरूमा रञ्जित कुमार पटेल, प्रमोद कुमार पटेल, आजम मन्सुरी, जितेन्द्र प्रसाद सोनार, मोहन साह सोनार, चन्दन महतो कहार, सदरे आलम अन्सारी तथा कन्हैया साह रहेका छन्।

महिला सदस्यतर्फ पिंकी कुमारी साह, अन्जु चौरसिया, सावित्री कुमारी घिमिरे, शोभा गुप्ता र दिसना गिरी निर्वाचित भएका छन्।

रास्वपा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम आर्यका अनुसार २५ सदस्यीय महानगर कमिटिमा हाल २३ जना निर्वाचित भएका छन् भने बाँकी दुई सदस्य पछि मनोनित गरिनेछ।

नवनिर्वाचित सभापति दीपराज पटेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसद पदका उम्मेदवारसमेत बनेका थिए। नयाँ नेतृत्वले संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Back to top