वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा वीरगञ्जका विभिन्न होटेल तथा खाद्य व्यवसायहरूको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा उत्पादन तथा बिक्री भइरहेका खाद्य सामग्रीको लेबल, सरसफाइ, गुणस्तर तथा प्रचलित मापदण्डको अवस्थाबारे अध्ययन गरिएको थियो । अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।
यसअघि वीरगञ्जका विभिन्न होटेलहरूको निरीक्षणका क्रममा केही स्थानमा गुणस्तरहीन खाद्य सामग्री फेला परे पनि भिषुवा होटेलमा भने गुणस्तरहीन खाना नभेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ । यद्यपि, होटेलमा डस्टबिन खुला अवस्थामा रहेको पाइएकाले त्यसलाई ढाकेर राख्न सुझाव दिइएको छ ।
अनुगमनमा सहभागी एक सदस्यका अनुसार केही होटेलमा विभिन्न प्रकारका त्रुटि फेला परेका छन् भने केहीमा सामान्य कमजोरी मात्र देखिएको छ । सामान्य त्रुटि भेटिएका व्यवसायलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण टोली संयोजक जगत् प्रकाश चौधरी, सदस्य श्रवण कुमार साह, वाणिज्य कार्यालयका मधुरेस प्रसाद साह तथा उपभोक्ताका प्रतिनिधि प्रकाश कुमार शाहको सहभागिता रहेको थियो ।
निरीक्षण अधिकृत सुनिल चौरसियाले खाद्य व्यवसायी तथा उद्योगीलाई प्रचलित खाद्य ऐन तथा नियमअनुसार उत्पादन, भण्डारण र बिक्री–वितरण गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने विषयमा कुनै पनि लापरबाही नगर्न चेतावनी दिएका छन् ।