वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको तस्करी नियन्त्रण अभियानअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताले भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो परिमाणका कपडा बरामद गर्दै तस्करीको नयाँ शैली उजागर गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको अभियानका क्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कारबाही गर्दै भन्सार छली गरी ल्याइएका सर्टिङ–सुटिङका कपडा, तीन वटा टाँगा तथा चालकहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीका अनुसार तस्करहरूले भारतबाट भन्सार छली गरी ल्याइएका कपडाहरूलाई टाँगाको संरचनाभित्र विशेष रूपमा तयार गरिएको गोप्य खण्ड (फल्स बटन) मा लुकाएर ओसारपसार गर्दै आएका थिए। बाहिरबाट सामान्य यात्रुवाहक टाँगा जस्तो देखिने सवारी साधनभित्र कपडा लुकाइएकाले सुरक्षा निकायको निगरानी छल्ने प्रयास गरिएको थियो।
प्राप्त गोप्य सूचनाका आधारमा निगरानी बढाएको प्रहरीले शंकास्पद टाँगाहरूको जाँच गर्दा लुकाइएका कपडाहरू फेला पारेको जनाएको छ। बरामद गरिएका सर्टिङ–सुटिङका कपडाको अनुमानित मूल्य करिब २ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
कपडा ओसारपसारमा प्रयोग गरिएका तीन वटा टाँगा तथा चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बरामद सामान थप अनुसन्धान तथा राजस्वसम्बन्धी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
पछिल्लो समय पर्सा–भारत सीमावर्ती क्षेत्रमा अवैध सामान तस्करीका लागि नयाँ–नयाँ तरिका अपनाउने क्रम बढिरहेको छ। कहिले सवारी साधनमा गोप्य खण्ड निर्माण गरेर त कहिले यात्रु वा भरियाको प्रयोग गरी सामान भित्र्याउने प्रयास भइरहेका बेला प्रहरीले निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको जनाएको छ।
प्रहरी उपरीक्षक सुदीप राज पाठकको नेतृत्वमा पर्सा प्रहरीले लागूऔषध, भन्सार छली, अवैध कारोबार तथा सीमा अपराध नियन्त्रणलाई प्राथमिकतामा राखी निरन्तर अभियान सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत बिर्ता प्रहरीले गरेको यो कारबाहीलाई तस्करी नियन्त्रणतर्फको महत्वपूर्ण सफलता मानिएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सूचना दिन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता कार्यमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।