×

१९औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले लगातार पाँचौ हार बेहोरेको छ।

गएराति पञ्जाबको घरेलु मैदान धर्मशालामा सम्पन्न खेलमा लिगको यस संस्करणबाट बाहिरिसकेको मुम्बई इण्डियन्स ६ विकेटले विजयी भयो। 

पञ्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो।

मुम्बईको जितमा तिलक बर्माले ३३ बलमा ६ चौका र ६ छक्काको सहयोगमा अविजित रहँदै सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। 

ओपनर रायन रिकल्टन २३ बलमा ४८, रोहित शर्मा २५ तथा शेरफन रादरफोर्ड २० रनमा आउट हुँदा विल ज्याक्स १० बलमा २५ बनाउँदै अविजित रहे।

पञ्जाबका लागि अजमतुल्लाह उमरजाइले २ तथा मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिए। 

त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० रनको योगफल तयार गरेको थियो।

पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले ३२ बलमा ६ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले। प्रियाशं आर्य २२, कुपर कोनली २१ तथा अजमतुल्लाह उमरजाइ ३८ रनमा आउट हुँदा विष्नु विनोद १५ तथा जेभियर ब्राटली १८ रनमा अविजित रहे।

मुम्बईका  शार्दुल ठाकुरले ४, दिपक चहरले २ तथा केब्रिन बोस र राज अङ्गद बावाले समान १ विकेट आफ्नो नाममा गरे। 

हार पछि प्रतियोगिताबाट बाहिरिसकेको मुम्बई १२ खेलमा ८ अंकका साथ नवौं स्थानमा छ। 

पराजित पञ्जाव १२ खेलमा १३ अंकका साथ चौथो स्थानमा यथावत छ। सुरुआतको ७ खेलमा अपराजित पञ्जाबको लगातार ५ हारसँगै प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ।

Back to top