वीरगञ्ज । पर्साको परवानीपुरस्थित बहुराष्ट्रिय औद्योगिक प्रतिष्ठान ब्रिटानिया नेपाल प्रा.लि. मा सम्भावित आगलागीको जोखिम न्यूनीकरण तथा अग्नि सुरक्षा सजगता अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
सशस्त्र प्रहरी बल (APF) पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा खटिएको ३० सदस्यीय विशेष टोलीले उद्योग परिसरको स्थलगत भ्रमण तथा सुरक्षा निरीक्षण गरेको हो।
भ्रमणका क्रममा सशस्त्र प्रहरीको टोलीले उद्योग परिसरमा अवलम्बन गरिएका सुरक्षा उपायहरूको विस्तृत अवलोकन गरेको थियो। निरीक्षणपछि टोलीले उद्योगमा जडान गरिएको उच्चस्तरीय अग्नि सुरक्षा प्रणाली र चौबीसै घण्टा तयारी अवस्थामा रहने प्रविधिको प्रशंसा गर्दै समग्र सुरक्षा व्यवस्थापनबाट आफूहरू प्रभावित भएको जनाएको थियो।
निरीक्षणकै क्रममा प्राविधिक टोलीले उद्योगमा जडान गरिएको आधुनिक ‘फायर हाइड्रन्ट’ प्रणालीको परीक्षण तथा अध्ययन गरेको थियो। साथै, सम्भावित आगलागीको अवस्थामा फायर हाइड्रन्ट, होज पाइप तथा अग्नि नियन्त्रक उपकरण (फायर एक्स्टिङ्ग्विसर) कसरी तत्काल र सही तरिकाले सञ्चालन गर्ने भन्ने विषयमा उद्योगका कर्मचारीलाई व्यावहारिक तालिम तथा प्रत्यक्ष अभ्यास (लाइभ डेमोन्स्ट्रेसन) समेत गराइएको थियो।
औद्योगिक क्षेत्रमा सुरक्षा संवेदनशीलता उच्च रहने भएकाले यस्ता अत्याधुनिक प्रणालीको सही परिचालनले ठूलो क्षति हुनबाट जोगाउन र सुरुवाती चरणमै आगो नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उद्योग प्रशासनले व्यक्त गरेको छ।
उद्योगका प्रतिनिधिहरूले सशस्त्र प्रहरी बल पर्साको टोलीलाई उद्योगको सुरक्षा प्रणाली सुदृढ बनाउन सहयोग पुर्याएको तथा महत्वपूर्ण प्रशिक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा उद्योगका फ्याक्ट्री म्यानेजर, उत्पादन, गुणस्तर, सुरक्षा तथा मानव संसाधन (एचआर) विभागका अधिकारीहरू र प्राविधिक कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।