×

वीरगञ्ज । पर्सागढी नगरपालिका क्षेत्र अन्तर्गत जीतपुरको टेढारोडदेखि पश्चिमतर्फ रङपुर बजारसम्म मर्मत गरिएको कालोपत्र सडक केही महिनामै ठाउँ–ठाउँमा भत्किन थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन्। सडक बिग्रिँदै गएपछि यात्रु तथा सवारी चालकले दैनिक सास्ती खे्नुपरेको गुनासो गरेका छन्।

स्थानीयका अनुसार सडक भत्किएका स्थानमा बेला–बेला वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भागमा माटो तथा ग्राभेल हालेर अस्थायीरूपमा पुर्ने काम गर्दै आएको छ। तर दीर्घकालीन समाधान नहुँदा समस्या जस्ताको त्यस्तै रहेको उनीहरूको भनाइ छ।

नगरप्रमुख गोकर्ण पाठक निर्वाचित भएपछि पर्सागढी नगरपालिका क्षेत्रभित्र पर्ने जनता सडक अन्तर्गत बिग्रिएको कालोपत्र सडक मर्मत गरिएको थियो। तर मर्मत सम्पन्न भएको केही समयमै सडक पुनः पुरानै अवस्थामा फर्किएको स्थानीयहरूले बताएका छन्।

सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी बढेका कारण मोटरसाइकल आपसमा ठोक्किने तथा दुर्घटना हुने घटनासमेत बढेको स्थानीयको भनाइ छ। उनीहरूले गुणस्तरहीन सामग्री प्रयोग गरेर हतारमा कालोपत्र गरिएको आरोप लगाएका छन्।

“सस्तो लोकप्रियता कमाउने उद्देश्यले गरिएको काम दिगो हुन सकेन,” एक स्थानीयले भने, “चार महिनामै सडक पुरानै अवस्थामा फर्किनु कमसल काम भएको स्पष्ट प्रमाण हो।”

चार महिना अघि मात्रै करिब सात लाख रुपैयाँ लागतमा भेडाहादेखि मनवासम्मको सात किलोमिटर सडक मर्मत गरिएको थियो। तर छोटो समयमै सडक फेरि बिग्रिन थालेपछि मर्मत कार्यको गुणस्तरमाथि प्रश्न उठेको छ। उक्त सडक खण्ड पहिलोपटक आर्थिक वर्ष २०६८/६९ मा निर्माण गरिएको थियो।

सडकको गुणस्तर र मर्मत कार्यबारे प्रतिक्रिया लिन खोज्दा नगरप्रमुख गोकर्ण पाठकले प्रतिक्रिया दिन नचाहेको स्थानीयले बताएका छन्।

यसैबीच, स्थानीयवासीहरूले नगरपालिकाको समग्र विकास कार्यप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार शिक्षा, स्वास्थ्य र कृषिमा सुधार गर्ने प्रतिबद्धता जनाइए पनि व्यवहारमा प्रभावकारी काम हुन सकेको छैन।

स्थानीयहरूले शिक्षासम्बन्धी कार्यक्रम आफ्ना निकट व्यक्तिहरू केन्द्रित भएको आरोप लगाउँदै स्वास्थ्य संस्थामा आवश्यक औषधिको अभाव तथा किसानहरूले समयमा मलखाद नपाएको गुनासो गरेका छन्।

उनीहरूले नगरपालिकाले दीर्घकालीन योजना बनाएर गुणस्तरीय विकास निर्माणमा ध्यान दिनुपर्ने माग गरेका छन्।

Back to top