×

वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रङ्गपुरटाँडीको संयुक्त आयोजनामा शनिबार रङ्गपुरटाँडी प्रहरी चौकीमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। समुदायसँग प्रत्यक्ष संवाद स्थापना गर्दै शान्ति सुरक्षा सुदृढीकरण, सामाजिक विकृति नियन्त्रण तथा लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि समुन्नत अधिकारी ले नागरिकको सुरक्षा नै प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, जवाफदेही र जनमुखी बनाउन प्रहरी निरन्तर सक्रिय रहेको बताए। उनले प्रहरी र समुदायबीचको सम्बन्ध विश्वास, सहकार्य र पारदर्शितामा आधारित हुनुपर्नेमा जोड दिँदै नागरिकका गुनासा र सुझाव खुला रूपमा राख्न आग्रह गरे।

प्रनि अधिकारीले सीमित स्रोत–साधन, विस्तृत कार्यक्षेत्र र ग्रामीण भौगोलिक चुनौतीका बाबजुद पनि प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेको बताए। पछिल्लो समय युवापुस्तामा लागूऔषध दुव्र्यसन, सडक अनुशासनको कमी तथा सामाजिक विकृतिका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता समस्या नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको जानकारी दिए।

कार्यक्रममा उनले केही दिनअघि सञ्चालन गरिएको ‘नो हेल्मेट, नो राइड’ अभियानले ट्राफिक सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको बताए। साथै लागूऔषध नियन्त्रण, किशोरकिशोरी लक्षित जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय अभियान तथा समुदायमा निगरानी संयन्त्र विस्तार गर्ने योजना रहेको जानकारी पनि दिए।

प्रहरी चौकी रङ्गपुरका सहायक निरीक्षक हर्कबहादुर श्रेष्ठ ले स्थानीय तहमा प्रहरी–नागरिक समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

सखुवाप्रसौनी गाउँपालिकाका वडाध्यक्ष चिरञ्जीवी महतो थारू ले युवामाझ लागूऔषध सेवनको प्रवृत्ति चिन्ताजनक रूपमा बढिरहेको भन्दै कडाइका साथ निगरानी र कारबाही आवश्यक रहेको बताए।

त्यस्तै पूर्वशिक्षक महेन्द्र चौधरीले विद्यालय उमेरका विद्यार्थीहरूमा लागूऔषध सेवन र अनुशासनहीन गतिविधि बढ्दै गएको गुनासो गरे। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, युवा समाजसेवी तथा सर्वसाधारणले समेत सुरक्षा, सामाजिक समस्या र समाधानका विषयमा सुझाव तथा जिज्ञासा राखेका थिए।

Back to top