वीरगञ्ज । डिभिजन वन कार्यालय पर्सा मातहतका सबडिभिजन वन कार्यालय तथा विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समिति को सक्रियतामा सखुवाप्रसौनी गाउँपालिका–१ स्थित सखुवनिया टाँडी टोल मा अतिक्रमण गरिएको वन क्षेत्र खाली गराइएको छ ।
वन कार्यालयका अनुसार करिब ५० बिघा क्षेत्रफलमा फैलिएको अतिक्रमित जग्गा शुक्रबार डोजर प्रयोग गरी खाली गरिएको हो । उक्त क्षेत्रमा स्थानीय बासिन्दाले धान, मकै तथा तरकारीखेती गर्दै आएको पाइएको थियो ।
कार्यालयका अनुसार राष्ट्रिय वन र नम्बरी जग्गाबीचको सिमाना स्पष्ट पार्दै अतिक्रमण हटाउन संयुक्त रूपमा कारबाही गरिएको हो ।
विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रिजवान अन्सारी ले अतिक्रमित क्षेत्रको पहिचान गरी वन क्षेत्र र नम्बरी जग्गाको सीमांकन गरिएको जानकारी दिए ।
उनका अनुसार खाली गरिएको क्षेत्रमा ट्रेन्च (खाडल) खनेर सिमाना छुट्याइएको छ भने भविष्यमा पुनः अतिक्रमण हुन नदिन आवश्यक कदम चालिनेछ । उनले साझेदारी वन क्षेत्रभित्रका अतिक्रमित जग्गा खाली गराउने अभियान निरन्तर जारी रहने बताए ।
सब डिभिजन वन कार्यालय सखुवनियाका रेन्जर विजय यादव ले दुईवटा डोजर प्रयोग गरी अतिक्रमित क्षेत्र खाली गरिएको जानकारी दिए । उनका अनुसार खाली गरिएको क्षेत्रमा केही दिनभित्रै तारबार गरिनेछ ।
अतिक्रमण हटाउने कार्यमा वन अधिकृत उज्ज्वल यादव, वनगस्ती टोली, साझेदारी वनका प्रतिनिधिहरू तथा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली का प्रहरी निरीक्षक समुन्नत अधिकारीसहितको प्रहरी टोली खटिएको थियो ।
वन कार्यालयले सार्वजनिक वन क्षेत्र संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।