वीरगञ्ज । डिभिजन वन कार्यालय पर्सा र साझेदारी वन उपभोक्ता समूहको मिलेमतोमा जङ्गलभित्र अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको समाचार सार्वजनिक भएपछि सम्बन्धित निकायले उक्त कार्यमा रोक लगाएको छ ।
वैशाख २० गते प्रकाशित समाचारपछि डिभिजन वन कार्यालय पर्साले आइतबारदेखि उत्खनन कार्य बन्द गराएको हो ।
यसै विषयमा गादीमाई साझेदारी वन उपभोक्ता समूहले सोमवार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा समूहका अध्यक्ष सहरुम राउत गद्दीले करिब १० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको फायरलाइनका लागि ठेक्का परेको खोलाबाट ग्राभेल निकालिएको दाबी गरे ।
उनका अनुसार फायरलाइन निर्माणका लागि आवश्यक सामग्रीको रूपमा सो ग्राभेल प्रयोग गरिएको हो । तर उक्त कार्यको जिम्मा लिएको गोलु कन्स्ट्रक्सनका सञ्चालकले सो दाबी पुष्टि गर्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न सकेनन् । कन्स्ट्रक्सन पक्षले दुई सय टिप ग्राभेल प्रयोग गरिएको र प्रतिटिप सात सय रुपैयाँको दरले रसिद काटिएको दाबी गरे पनि पत्रकार सम्मेलनमा २५ टिपको मात्र रसिद देखाइएको थियो ।
बाँकी करिब १७५ टिपको रसिद घरमा रहेको भनिए पनि तत्काल प्रमाण प्रस्तुत गर्न नसक्दा अनियमितताको आशङ्का झन् बलियो बनेको छ । वनशक्तिमाई मन्दिर क्षेत्रदेखि वसन्तपुर सब डिभिजन वन कार्यालयसम्मको फायरलाइन मार्ग मर्मतका नाममा खोलाबाट अवैध रूपमा सामग्री निकालिएको आरोप यसअघि नै लाग्दै आएको थियो ।
स्रोतका अनुसार एक्साभेटर प्रयोग गरी एक दर्जनभन्दा बढी ट्याक्टरमार्फत नदीजन्य पदार्थ उत्खनन गरी सडकमा खसाल्ने काम भइरहेको थियो, जुन प्रचलित कानुन विपरीत हो। विशेषज्ञहरूका अनुसार खोलाबाट एक्स्काभेटर जस्ता भारी मेसिन प्रयोग गरी उत्खनन गर्नु पूर्ण रूपमा निषेधित छ ।
स्थानीय तहमा सम्बन्धित निकायकै संलग्नतामा यस्तो गतिविधि भइरहेको आरोपपछि डिभिजन वन कार्यालयले कडाइ गरेको हो । पत्रकार सम्मेलनमार्फत अध्यक्ष गद्दीले कन्स्ट्रक्सन पक्षको बचाउ गर्ने प्रयास गरे पनि ठोस प्रमाण अभावका कारण अनियमितता भएको सङ्केत स्पष्ट देखिएको छ ।