वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनटोलमा विद्युत सर्टसर्किटका कारण भीषण आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्।
स्थानीय संजय राम र मन्जय रामको घरमा सोमबार राति करिब ११:४५ बजे आगलागी भएको प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक उमेश कुमार यादवले जानकारी दिएका छन्।
आगलागीमा घरभित्र रहेका गरगहना, लत्ताकपडा, धान, गहुँ, फ्रिज, टेबल, कुर्सी, ग्यास सिलिन्डर, विद्युत मिटर, मोबाइल लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। साथै दुई वटा बाख्रा, ना.३ प ९७९१ नम्बरको मोटरसाइकल र करिब ३ लाख ५० हजार रुपैयाँ नगदसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
सखुवाप्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकाको दमकल, स्थानीयवासी तथा प्रहरीको संयुक्त प्रयासमा करिब एक घण्टापछि राति १२:४५ बजे आगो नियन्त्रणमा लिइएको थियो।
घटनामा संजय राम र मन्जय रामको करिब १६ लाख ९८ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिएका छन्।