वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–४ का वडाध्यक्ष राजेश्वर दास थारु ले आफ्नी भाउजु सुगान्धि देवीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप अस्वीकार गरेका छन्।
आइतबार आफ्नै निवास सुगौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूमाथि लगाइएका आरोपहरू पूर्णतः झुटा र निराधार रहेको दाबी गरे। उनले शनिबार दिउँसो खेतमा गहुँबाली भित्र्याउने विषयमा विवाद भएको जानकारी फोनमार्फत पाएको तर आफू घटनास्थलमा उपस्थित नरहेको बताए।
वडाध्यक्ष थारुले भाउजु सुगान्धि देवीले लगाएको कुटपिट तथा जबर्जस्ती करणीको प्रयाससम्बन्धी आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारे। केही सञ्चारमाध्यमले पर्याप्त तथ्य नबुझी समाचार प्रकाशन गर्दा आफ्नो चरित्रहत्या भएको भन्दै उनले असन्तुष्टि जनाए।
पत्रकार सम्मेलनमा वडा सचिव महेश राउत कुर्मी ले पनि आरोपहरू झुटा रहेको दाबी गर्दै केही व्यक्तिको उक्साहटमा यस्तो आरोप लगाइएको टिप्पणी गरे।
प्रारम्भिक रूपमा यो विवाद पारिवारिक अंशबण्डा र जग्गा प्रयोगसँग सम्बन्धित रहेको देखिएको छ। वडाध्यक्षका स्वर्गीय दाइ ब्रह्मानन्द दास थारुका परिवारबीच जमिनको उपयोग र बाली भित्र्याउने विषयमा विवाद चर्किँदा झगडा भएको जनाइएको छ। अंशबण्डासम्बन्धी मुद्दा हाल पर्सा जिल्ला अदालतमा विचाराधीन रहेको बताइएको छ।
गत कार्तिकमा प्रहरी चौकीमा भएको सहमतिअनुसार धानबाली सुगान्धि देवीले र गहुँबाली अन्य पक्षले लिने सहमति भए पनि सोही विषयमा पुनः विवाद उत्पन्न भएको हो।
यसैबीच, सुगान्धि देवी पक्षसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।