वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गण्डक नहरको डिल नजिक जङ्गलबाट भागेर आएको भाले हरिण फेला परेको छ। उक्त हरिण स्थानीयले देखेपछि प्रहरी चौकी महुवनलाई खबर गरिएको थियो।
प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक उमेश यादवका अनुसार जङ्गल क्षेत्रबाट बाहिर आएको भाले हरिणलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पछिल्लो समय चैत्र, बैशाख र जेठ महिनामा सुख्खा मौसम तथा वन क्षेत्रमा फैलिने डढेलोका कारण जङ्गली जनावरहरू बासस्थान छोडेर गाउँतर्फ पस्ने क्रम बढ्ने गरेको छ। रंगपुर वन कार्यालयका जमदार अर्जुन चौधरीले पानीको अभावका कारण जङ्गली जनावरहरू पानीको खोजीमा वन बाहिर निस्कने र कतिपय अवस्थामा बाटो बिराएर गाउँ पस्ने गरेको बताए।
पक्राउ गरिएको भाले हरिणलाई आवश्यक प्रक्रिया पूरा गरी रंगपुर वन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।
स्थानीय तहमा जङ्गली जनावरको आवागमन बढ्न थालेपछि सर्वसाधारणलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ।