×

वीरगञ्ज । एकीकृत जाँच चौकी (ICP) वीरगञ्जबाट निस्किने मालवाहक ट्रकहरूबाट ‘ढाट’ नाममा भइरहेको अवैध असुलीको विषय फेरि चर्किएको छ।

गृह मन्त्रालयले यसअघि नै यस्तो असुली पूर्ण रूपमा गैरकानुनी भन्दै रोक्न निर्देशन दिएको भए पनि स्थानीय तह तथा केही समूहको संलग्नतामा रकम उठाइँदै आएको गुनासोपछि विवाद पुनः सतहमा आएको हो।

पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले यस विषयमा कडा आपत्ति जनाउँदै तत्काल असुली बन्द गर्न निर्देशन दिएका छन्। उनले प्रमुख जिल्ला अधिकारी भोलादहालसँग समन्वय गरी दिनमा बन्द र राति पुनः सञ्चालन भइरहेको सूचना पाइएको भन्दै यस्तो कार्य तत्काल रोक्नुपर्ने बताएका छन्।

सांसद पन्तका अनुसार भन्सारबाट निस्किने ट्रकहरूसँग विभिन्न स्थानमा गुम्ती राखेर ५ सयदेखि १ हजार रुपैयाँसम्म असुली गरिँदै आएको छ, जुन कुनै पनि कानुनले मान्यता दिएको छैन। उनले स्थानीय तहलाई यस्तो कर उठाउने अधिकार नभएको स्पष्ट पारे।

व्यवसायीहरूका अनुसार लामो समयदेखि भइरहेको यो असुलीका कारण ढुवानी लागत बढ्नुका साथै उपभोक्ता मूल्यमा समेत असर परेको छ। सांसद पन्तले यस विषयलाई प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष उठाएपछि सरकारले पनि अवैध असुली तुरुन्त बन्द गर्न निर्देशन दिएको थियो।

यद्यपि, निर्देशन कार्यान्वयन नभएको गुनासो आइरहेका बेला पन्तले पुनः सम्बन्धित निकायलाई कडाइका साथ कारबाही गर्न चेतावनी दिएका छन्। उनले कानुनविपरीत हुने कुनै पनि प्रकारको असुली सह्य नहुने बताएका छन्।

Back to top