सांकेतिक तस्बिर ।
वीरगञ्ज । रौतहटमा सोमबार साँझ आएको तीव्र हुरीका कारण घर भत्किँदा एक महिलाको ज्यान गएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका–७ धमौराटोल निवासी ३५ वर्षीय फूलकुमारी देवी आफ्नै घर भत्किँदा त्यसमा थिचिएर गम्भीर घाइते भएकी थिइन् ।
टायलको छानो र बाँसको बारले बनेको एक तल्ले कच्ची घर हुरीका कारण भत्किएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए ।
स्थानीयवासीको सहयोगमा उद्धार गरी उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हुरीका कारण जिल्लाका अन्य स्थानमा समेत घर तथा संरचनामा आंशिक क्षति पुगेको बताइएको छ ।
यसैबिच, मौसम अस्थिर भइरहेका बेला हावाहुरी तथा आँधीबेहरीबाट जोगिन आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । यस्ता प्राकृतिक विपद्का समयमा सकेसम्म घरभित्र सुरक्षित स्थानमा बस्न, झ्याल–ढोका मजबुत रूपमा बन्द गर्न र कच्ची वा जीर्ण घरमा बस्नेहरूलाई समयमै सुरक्षित स्थानमा सर्न पनि प्रशासनले सुझाव दिएको छ ।
त्यस्तै खुला ठाउँमा ननिस्कन, रुख, बिजुलीका खम्बा वा कमजोर संरचनाको आसपास नबस्न तथा अत्यावश्यक परे सुरक्षित भवनभित्र आश्रय लिन पनि सुझाव छ । साथै, मौसमसम्बन्धी पूर्व सूचना र सरकारी निकायका निर्देशन पालना गर्न, आपत्कालीन अवस्थाका लागि टर्च, प्राथमिक उपचार सामग्री तथा आवश्यक सम्पर्क नम्बर तयारी अवस्थामा राख्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।