×

वीरगञ्ज । पप्पु कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुमित रौनियार विरुद्ध पक्राउ आदेश जारी भएको छ । बिगो सम्बन्धी मुद्दामा दोषी ठहर भई दुई वर्ष कैद सजाय तोकिएपछि पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ निवासी तथा प्रमोद निर्माण सेवाका सञ्चालक मनोज पटेलले दायर गरेको बिगो सम्बन्धी मुद्दामा अदालतले गत वैशाख ३१ गते पक्राउ आदेश जारी गरेको जनाएको छ ।

यद्यपि, आदेश जारी भएको सात दिन बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय पर्साले रौनियारलाई पक्राउ गर्न नसकेको भन्दै प्रमोद निर्माण सेवाका सञ्चालक पटेलले गुनासो गरेका छन् । उनले राजनीतिक तथा आर्थिक पहुँचका कारण प्रहरीले दबाबमा परेर पक्राउ गर्न ढिलाइ गरेको आशङ्का व्यक्त गरे ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक कदम चालिएको बताएका छन् । उनका अनुसार रौनियारलाई पक्राउ गर्न फैसला कार्यान्वयन टोली परिचालन गरिएको छ भने भौतिक तथा प्राविधिक दुवै संयन्त्र प्रयोग गरी खोजी कार्य तीव्र बनाइएको छ ।

सघन सहरी विकास कार्यालयअन्तर्गत वीरगञ्ज महानगरपालिकामा सडक तथा नाला निर्माणका लागि स्वच्छन्द, पप्पु र युनाइटेड जेभीले ठेक्का लिएको थियो । निर्माण कार्यका क्रममा प्रमोद निर्माण सेवाबाट डिट्टी, बालुवालगायत निर्माण सामग्री लिए पनि भुक्तानी नगरेको आरोपमा सञ्चालक मनोज पटेलले अदालतमा बिगो मुद्दा दायर गरेका थिए ।

मुद्दामा सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतले २०८० कात्तिक २० गते रौनियारलाई १ करोड १५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो । अदालतले बिगो बराबरको रकम भुक्तानी नगरे दुई वर्ष कैद सजायसमेत हुने फैसला गरेको प्रमोद निर्माण सेवाका सञ्चालक पटेलले जानकारी दिए ।

जिल्ला अदालतको फैसलाविरुद्ध रौनियारले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन दिएका थिए । तर अस्थायी इजलासले पुनरावेदन खारेज गर्दै जिल्ला अदालतको फैसला सदर गरेको जनाएको छ ।

Back to top